रास्वपा महाधिवेशन: प्राविधिक ढिलाइपछि आजबाट सुरु हुँदै बन्दसत्र, बिहानैदेखि प्रतिनिधि परिचयपत्र वितरण जारी

चितवन । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को पहिलो ऐतिहासिक राष्ट्रिय महाधिवेशन अन्तर्गतको बन्दसत्र प्राविधिक कारणले एक दिन ढिलो गरी आज मङ्गलबारदेखि चितवनको भरतपुरमा सुरु हुँदैछ। सोमबार बिहानैदेखि सुरु हुने भनिएको बन्दसत्र प्रतिनिधिहरूको नामावली रुजु गर्ने र परिचयपत्र छपाइ कार्य समयमा सम्पन्न हुन नसकेपछि आजका लागि सारिएको हो।

बन्दसत्रलाई व्यवस्थित बनाउनका लागि आज बिहान ७:०० बजेदेखि नै महाधिवेशन प्रतिनिधिहरूलाई परिचयपत्र वितरण गर्ने कार्य सुरु गरिएको छ। पार्टीका प्रवक्ता मनिष झाका अनुसार महाधिवेशन पार्टीको सर्वोच्च र संवेदनशील निकाय भएकाले यस प्रक्रियामा कुनै पनि किसिमको प्राविधिक त्रुटि वा विवाद नआओस् भन्नका लागि प्रतिनिधिहरूको विवरण पूर्ण रूपमा दुरुस्त पारेर मात्र बन्दसत्र अगाडि बढाउने निर्णय गरिएको हो। विशेष गरी मधेस प्रदेशका प्रतिनिधिहरूको सङ्ख्या र विवरण यकिन गर्न समय लागेकाले कार्यतालिका प्रभावित भएको थियो। आज बिहानैदेखि सातवटै प्रदेश, समायोजन तथा प्रवास समितिका फरक-फरक काउन्टरहरूबाट सहज रूपमा कार्ड वितरण भइरहेको छ।

परिचयपत्र वितरण कार्य सम्पन्न भएलगत्तै नारायणगढस्थित उद्योग सङ्घको प्रदर्शनी केन्द्रमा बन्दसत्रका औपचारिक कार्यक्रमहरू अगाडि बढ्ने छन्। रास्वपाका महामन्त्री कविन्द्र बुर्लाकोटीका अनुसार बन्दसत्रको प्रारम्भमा अनुशासन आयोगका प्रमुख रमाकान्त रिमालले अनुशासन आयोगको प्रतिवेदन प्रस्तुत गर्नेछन्। त्यसपछि कोषाध्यक्ष लिमा अधिकारीले आर्थिक प्रतिवेदन र महामन्त्री बुर्लाकोटीले साङ्गठनात्मक प्रतिवेदन पेस गरी छलफल चलाइने छ। विधान संशोधन र अनुमोदनपछि पार्टी सभापति रवि लामिछानेले राजनीतिक प्रतिवेदन पेस गर्ने कार्यतालिका छ। राजनीतिक प्रतिवेदन पारित भएपछि वर्तमान आयोजक समितिले आफ्नो सम्पूर्ण जिम्मेवारी निर्वाचन आयोगलाई हस्तान्तरण गर्नेछ र नयाँ नेतृत्व चयनका लागि निर्वाचन प्रक्रिया सुरु हुनेछ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

नोट :हजुरको पनि गाउँ, टोल, छर-छिमेक वा समाजमा कुनै सुचना, संदेश, या नयाँ जानकारी छन् भने, तत्काल हामीलाई सम्पर्क गर्नुहोस, हामि त्यसलाई समाचार बनाउने छौं । साथै suryapatra.com बाट प्रकाशित समाचारमा कुनै सुझाव,सल्लाह र प्रतिक्रिया भए वा बिज्ञापन दिनु परेमा हामीलाई सम्पर्क गर्नुहोस जसको लागि हाम्रो इमेल :-suryapatra.org@gmail.com तपाईं हामी सँग फेसबुक र ट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।

थप समाचार

ताजा