काठमाडौँ । पूर्वप्रधानमन्त्री डा. बाबुराम भट्टराईले आफ्नो सम्पत्ति विवरण सरकारलाई बुझाएका छन्। पूर्व उच्चपदस्थ पदाधिकारीहरूको सम्पत्ति छानबिन गर्ने नेपाल सरकारको निर्णयलाई पूर्ण समर्थन जनाउँदै उनले बुधबार केशरमहलस्थित सम्पत्ति छानबिन आयोगको कार्यालयमै पुगेर उक्त विवरण पेस गरेका हुन्।
डा. भट्टराईको सचिवालयले दिएको जानकारीअनुसार, सार्वजनिक पद धारण गरेका व्यक्तिहरू सधैँ पारदर्शिता, जबाफदेहिता र सुशासनप्रति जवाफदेही हुनुपर्छ भन्ने मान्यतालाई आत्मसात् गर्दै उनले यो कदम चालेका हुन्। सुशासनप्रतिको आफ्नो दृढ प्रतिबद्धतालाई व्यवहारमै उतार्न र सरकारले थालेको सम्पत्ति छानबिन अभियानलाई सघाउन उनले देखाएको यस अग्रसरताले राजनीतिक वृत्तमा सकारात्मक सन्देश प्रवाह गरेको छ।




