काठमाडौँ । मुलुकको पछिल्लो समसामयिक राजनीतिक अवस्था तथा प्राकृतिक विपत्तिपछिको परिस्थितिबारे साझा रणनीति तय गर्न प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसको अग्रसरतामा विपक्षी दलहरूको महत्त्वपूर्ण बैठक सुरु भएको छ। सिंहदरबारस्थित नेपाली कांग्रेस संसदीय दलको कार्यालयमा बिहीबार आयोजित बैठकमा संसद्मा प्रतिनिधित्व गर्ने प्रमुख विपक्षी दलका शीर्ष नेता तथा सचेतकहरूको सहभागिता रहेको छ।
बैठकमा नेपाली कांग्रेस संसदीय दलका नेता भीष्मराज आङदेम्बे, प्रमुख सचेतक वासना थापा, नेकपा (एमाले) संसदीय दलका उपनेता पद्मा अर्याल, नेपाली कम्युनिस्ट पार्टीका सांसद प्रमेश हमाल, प्रमुख सचेतक युवराज दुलाल तथा श्रम संस्कृति पार्टीका ध्रुवराज राईलगायतका नेताहरूको उपस्थिति रहेको छ। बैठकमा रसुवाको भोटेकोशी बाढीपहिरोले पुर्याएको जनधनको क्षति, पीडितहरूलाई राहत तथा पुनःस्थापनामा सरकारको सुस्त गति र संसद्मा उठाउनुपर्ने साझा एजेन्डाबारे विस्तृत छलफल भइरहेको छ।
संसद्मा जनसरोकारका जल्दाबल्दा मुद्दाहरूलाई प्रभावकारी ढङ्गले उठाउन, सरकारका काम-कारबाहीको सशक्त खबरदारी गर्न र बाढीपीडितलाई तत्काल उचित राहत उपलब्ध गराउन दबाब सिर्जना गर्न विपक्षी दलहरूबिच साझा कार्यदिशा निर्माण गर्ने उद्देश्यले यो बैठक डाकिएको सहभागी नेताहरूले बताएका छन्।





