काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले आगामी स्थानीय तहको निर्वाचनलाई लक्षित गर्दै ‘केन्द्रीय उम्मेदवार छनोट समिति’ गठन गरेको छ। पार्टी केन्द्रीय कार्यालय वनस्थलीमा सभापति रवि लामिछानेको अध्यक्षतामा बसेको केन्द्रीय समितिको बैठकले संगठन विस्तार तथा निर्वाचन तयारीलाई तीव्रता दिने उद्देश्यसहित महामन्त्री विपिन आचार्यको संयोजकत्वमा उक्त समिति गठन गरेको हो।
गठित उम्मेदवार छनोट समितिमा मिलन लिम्बू, रहबर अन्सारी, डा. तोसिमा कार्की, कविन्द्र बुर्लाकोटी, सुशान्त वैदिक, टासी ल्हाजोम र जनक सिंह धामी सदस्य रहेका छन् भने सातै प्रदेशका पार्टी सभापतिहरूलाई पदेन सदस्यको जिम्मेवारी दिइएको छ। यस समितिले स्थानीय तहको निर्वाचनका लागि योग्य उम्मेदवारहरूको पहिचान र सिफारिस गर्ने कार्य गर्नेछ।
यसैगरी बैठकले पार्टीका विभिन्न १३ वटा केन्द्रीय विभागहरूमा प्रमुख तथा सदस्यहरूको समेत मनोनयन गरेको छ। जसअनुसार प्रवास सम्पर्क विभागमा मनिष झा, आर्थिक व्यवस्थापनमा डा. मनोहर प्रधान, कानुनी मामिलामा मोहनलाल आचार्य, सामाजिक न्यायमा रुबिना आचार्य, सुशासनमा सुदीप ढकाल, विधायनमा सुलभ खरेल, कृषिमा ज्ञानेन्द्र महता, श्रममा दीपक कुमार साह, आपूर्तिमा शर्मिला खनाल, विज्ञान तथा प्रविधिमा आनन्द बहादुर चन्द, संस्कृति तथा पर्यटनमा डा. धनञ्जय रेग्मी, वातावरणमा धर्म केसी र समता प्रवर्द्धन विभागमा रीमा विश्वकर्मालाई जिम्मेवारी तोकिएको छ।





