बारा । भारतबाट अवैध रूपमा नेपालतर्फ भित्र्याउँदै गरिएको २४ बोरा चकलेटसहित ६ जना नेपाली नागरिक पक्राउ परेका छन्। बारा जिल्लासँग सीमा जोडिएको भारतको नायकटोला गाउँ नजिकबाट भारतीय सशस्त्र सीमा बल (एसएसबी) को टोलीले उनीहरूलाई नियन्त्रणमा लिएको हो।
विशेष सूचनाका आधारमा खटिएको सुरक्षा टोलीले ६ वटा साइकलमा लोड गरी लैजाँदै गरेको अवस्थामा कुल ९६० किलो चकलेट बरामद गरेको जनाइएको छ। पक्राउ पर्नेहरूमा बाराको कलैया उपमहानगरपालिका मटिअर्वाका राजु महतो, रामानन्द महतो, सुरेन्द्र महतो, रामप्रवेश मण्डल, महेन्द्र महतो र विकासकुमार मण्डल रहेका छन्।
बरामद गरिएका चकलेट, ढुवानीमा प्रयोग गरिएका साइकल र पक्राउ परेका व्यक्तिहरूलाई आवश्यक कानुनी कारबाहीका लागि मोतिहारीस्थित भन्सार कार्यालयमा बुझाइएको छ। पछिल्लो समय सीमा क्षेत्रमा हुने अवैध चोरीपैठारी नियन्त्रणका लागि गस्ती र निगरानी कडा पारिएको छ।





