मन्त्रिपरिषद् बैठकका महत्वपूर्ण निर्णय : नर्वेको १० करोड अनुदान स्वीकृत, मैनाली सचिवमा बढुवा

काठमाडौँ । मन्त्रिपरिषद्को सोमबार बसेको बैठकले वैदेशिक अनुदान सहायता स्वीकार गर्नेदेखि उच्च तहका कर्मचारीको बढुवा तथा पदस्थापनसम्मका विभिन्न महत्वपूर्ण निर्णय गरेको छ। प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा सम्पन्न बैठकले नगरपालिकाहरूमा स्वच्छ ऊर्जा रूपान्तरण प्रवर्द्धन कार्यक्रम सञ्चालनका लागि नर्वेजियन सरकारबाट प्राप्त हुने करिब १० करोड रुपैयाँ बराबरको अनुदान सहायता स्वीकार गर्ने निर्णय गरेको हो।

बैठकले प्रशासनिक तथा नीतिगत सुधारअन्तर्गत नेपाल इन्जिनियरिङ सेवा (गठन समूह तथा श्रेणी विभाजन र नियुक्ति) दोस्रो संशोधन नियमहरू, २०८३ र वैकल्पिक विकास वित्त परिचालन नियमावली, २०८३ लाई स्वीकृति प्रदान गरेको छ। साथै सहसचिव पद्मकुमार मैनालीलाई नेपाल इन्जिनियरिङ सेवा समूहीकरणतर्फको सचिव पदमा बढुवा गरी पूर्वाधार विकास मन्त्रालयमा पदस्थापन गर्ने निर्णय समेत गरिएको छ।

यसैगरी, जेनजी आन्दोलनसँग सम्बन्धित घटनामा फौजदारी अभियोजन खेपिरहेका मुद्दाहरू फिर्ता लिने सम्बन्धमा छानबिन गरी सिफारिस गर्न पूर्वन्यायाधीश बाबुराम रेग्मीको अध्यक्षतामा गठित समितिले बुझाएको प्रतिवेदन आवश्यक कार्यान्वयनका लागि गृह मन्त्रालयमा पठाउने निर्णय मन्त्रिपरिषद्ले गरेको छ।

नोट :हजुरको पनि गाउँ, टोल, छर-छिमेक वा समाजमा कुनै सुचना, संदेश, या नयाँ जानकारी छन् भने, तत्काल हामीलाई सम्पर्क गर्नुहोस, हामि त्यसलाई समाचार बनाउने छौं । साथै suryapatra.com बाट प्रकाशित समाचारमा कुनै सुझाव,सल्लाह र प्रतिक्रिया भए वा बिज्ञापन दिनु परेमा हामीलाई सम्पर्क गर्नुहोस जसको लागि हाम्रो इमेल :-suryapatra.org@gmail.com तपाईं हामी सँग फेसबुक र ट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।

थप समाचार

ताजा