काठमाडौँ । मंगलबार देशभर साधारणतया बदली रही विभिन्न भू-भागमा मेघगर्जन र चट्याङ्गसहित वर्षा तथा हिमपातको सम्भावना रहेको छ। कोशी, बागमती, गण्डकी र लुम्बिनी प्रदेशका हिमाली भेगका थोरै स्थानहरूमा तथा कर्णाली र सुदूरपश्चिम प्रदेशको हिमाली क्षेत्रका एक-दुई स्थानमा मध्यम वर्षा र हिमपातको आकलन गरिएको छ।
दिउँसोको समयमा देशका पहाडी भू-भागका केही स्थानहरूमा तथा तराई भू-भागका थोरै स्थानहरूमा मेघगर्जन र चट्याङ्गसहित मध्यम वर्षा हुन सक्नेछ। उच्च हिमाली क्षेत्रमा हिमपातका कारण चिसो बढ्ने र पहाडी तथा तराई क्षेत्रमा वर्षाका कारण दैनिक जनजीवन तथा यातायात प्रभावित हुन सक्ने सम्भावना छ।
रातिको समयमा पनि हिमाली र पहाडी भू-भागमा साधारणतया बदली कायम रहनेछ। लुम्बिनी र सुदूरपश्चिम प्रदेशको तराई क्षेत्रका थोरै स्थानहरूमा तथा मधेश, कोशी, बागमती र गण्डकी प्रदेशको तराई क्षेत्रका एक-दुई स्थानमा मेघगर्जनसहित मध्यम वर्षाको सम्भावना रहेकाले आवश्यक सतर्कता अपनाउन आग्रह गरिएको छ।





