काठमाडौँ । नेपाली कांग्रेसको १५औँ महाधिवेशनअन्तर्गत नयाँ केन्द्रीय कार्यसमिति चयनका लागि पदाधिकारी तथा केन्द्रीय सदस्य पदहरूमा उम्मेदवारी दर्ता सम्पन्न भएको छ। केन्द्रीय निर्वाचन समितिले सार्वजनिक गरेको प्रारम्भिक नामावली अनुसार सभापति पदमा गगनकुमार थापा, किशोरसिंह राठौर र श्यामकृष्ण खड्गी गरी तीन जनाबीच प्रतिस्पर्धा हुने भएको छ।
पार्टीको वरिष्ठ उपसभापतिमा विश्वप्रकाश शर्मा र महिला उपसभापतिमा पुष्पा भुसालको उम्मेदवारी परेको छ। खुला उपसभापति पदमा डा. चन्द्रकान्त भण्डारी, देवराज चालिसे, सुरेन्द्रराज पाण्डे, मधु आचार्य, डा. मिनेन्द्र रिजाल, दीपक गिरी, धनराज गुरुङ, गोविन्द भट्टराई र डा. चन्द्रमोहन यादवसहित ९ जना तथा समावेशी उपसभापतिमा विनोद चौधरी, फरमुल्लाह मन्सुर, जीवन परियार, रञ्जित कर्ण र सीता गुरुङ चुनावी मैदानमा उत्रिएका छन्।
यसैगरी खुला महामन्त्री पदमा प्रदीप पौडेल, गुरुराज घिमिरे, उदयशमशेर राणा, अमरसिंह पुन, नैनसिंह महर, शंकर तिवारी, डा. सुनील शर्मा र डा. सन्तोष उपाध्याय प्रतिस्पर्धामा छन् भने महिला महामन्त्रीतर्फ डा. डिला संग्रौला, रिता खनाल र महालक्ष्मी उपाध्याय ‘डिना’ बीच भिडन्त हुनेछ। सहमहामन्त्रीका खुला, महिला, आदिवासी जनजाति, दलित, मधेसी, खसआर्य, थारू, मुस्लिम, पिछडिएको क्षेत्र र अल्पसंख्यकतर्फ पनि नेताहरूले उत्साहजनक रूपमा उम्मेदवारी दर्ता गराएका छन्।





