काठमाडौँ । हाल नेपालमा पश्चिमी वायुको आंशिक प्रभावले गर्दा देशका विभिन्न भागमा मौसममा बदली देखिएको छ। जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाका अनुसार सुदूरपश्चिम प्रदेशको तराई भूभागमा अहिले बाक्लो हुस्सु र कुहिरो लागेको छ भने कोशी, मधेस, बागमती, गण्डकी, लुम्बिनी र कर्णालीका हिमाली क्षेत्रमा आंशिक बादल देखिएको छ।
महाशाखाले आज दिउँसो कर्णाली र सुदूरपश्चिम प्रदेशका पहाडी तथा हिमाली भूभागमा साधारणतया बदली रहने जानकारी दिएको छ। यी प्रदेशका साथै गण्डकीका उच्च पहाडी तथा हिमाली भेगका एक-दुई स्थानमा हल्का हिमपात र वर्षा हुने सम्भावना छ। तराईका केही स्थानमा भने आज दिनभर हुस्सु र कुहिरो लाग्ने भएकाले चिसोबाट बच्न र यात्रा गर्दा सतर्कता अपनाउन महाशाखाले अनुरोध गरेको छ। बाँकी भूभागमा भने मौसम मुख्यतया सफा रहनेछ।





