लुम्बिनी । बुद्ध जन्मस्थल लुम्बिनीलाई अन्तर्राष्ट्रिय स्तरमा थप प्रवर्द्धन गर्ने उद्देश्यले आगामी वैशाख पूर्णिमाका अवसरमा ‘तेस्रो अन्तर्राष्ट्रिय बौद्ध सम्मेलन’ आयोजना गरिने भएको छ। लुम्बिनी विकास कोषको बिहीबार बसेको परिषद् बैठकले २५७०औँ बुद्ध जयन्तीको अवसर पारेर आगामी वैशाख १६ र १७ गते यो भव्य सम्मेलन गर्ने निर्णय गरेको हो। संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री एवं कोषका अध्यक्ष अनिलकुमार सिन्हाको अध्यक्षतामा बसेको बैठकले सम्मेलनका लागि उपाध्यक्ष डा. ल्हारक्याल लामाको संयोजकत्वमा १० सदस्यीय मूल आयोजक समारोह समिति समेत गठन गरेको छ।
सरकारले चालु आर्थिक वर्षका लागि यस सम्मेलन आयोजना गर्न तीन करोड रुपैयाँ बजेट विनियोजन गरेको छ। यसअघि राजनीतिक तथा संरचनात्मक परिवर्तनका कारण नोभेम्बरमा गर्ने भनिएको यो सम्मेलन अब बुद्ध जयन्तीको विशेष साइतमा आयोजना हुन लागेको हो। सम्मेलनमा विश्वका ६० भन्दा बढी देशका बौद्ध विद्वान, गुरु, विशिष्ट पाहुना र विभिन्न क्षेत्रका प्रतिष्ठित व्यक्तित्वहरूको सहभागिता रहने अपेक्षा गरिएको छ। सम्मेलनले बुद्ध धर्म र दर्शनमार्फत विश्व शान्ति, दया र करुणाको भावना फैलाउन महत्त्वपूर्ण भूमिका खेल्ने विश्वास मूल आयोजक समितिका संयोजक लामाले व्यक्त गर्नुभएको छ।
दुई दिनसम्म चल्ने यस सम्मेलनमा बुद्ध जन्मस्थल लुम्बिनी, तिलौराकोट (कपिलवस्तु) र बुद्धसँग सम्बन्धित अन्य सम्पदाहरूको संरक्षणका विषयमा गहन छलफल हुनेछ। त्यसैगरी, लुम्बिनी क्षेत्रको पर्यावरणीय अवस्था, विश्व बौद्ध सम्पदा, बौद्ध शिक्षा र संस्कृतिका विषयमा विभिन्न विज्ञहरूले कार्यपत्र समेत प्रस्तुत गर्ने कार्यसूची रहेको छ। सम्मेलनको माध्यमबाट लुम्बिनीको ऐतिहासिक र पुरातात्विक महत्त्वलाई विश्वभरका बौद्ध धर्मावलम्बी र पर्यटकमाझ पुर्याउने लक्ष्य राखिएको छ।
यसअघि आयोजना गरिएका पहिलो र दोस्रो अन्तर्राष्ट्रिय बौद्ध सम्मेलनले नेपालको धार्मिक तथा सांस्कृतिक पर्यटन प्रवर्द्धनमा ठूलो योगदान पुर्याएका थिए। यसपटकको तेस्रो संस्करणले लुम्बिनीलाई अन्तर्राष्ट्रिय बौद्ध केन्द्रका रूपमा थप स्थापित गर्ने र संसारभरि बौद्ध धर्मको महत्त्व बढाउँदै पर्यटन क्षेत्रमा नयाँ इँटा थप्ने कोषको विश्वास छ। सदस्य सचिव दीपक श्रेष्ठका अनुसार सम्मेलनको तयारीलाई तीव्रता दिन विभिन्न उपसमितिहरू समेत सक्रिय बनाइनेछ।




