काठमाडौँ । नेपालमा हाल पश्चिमी न्यून चापीय प्रणालीको सामान्य प्रभाव देखिएको छ। मौसम पूर्वानुमान महाशाखाका अनुसार यसको प्रभावले देशका पहाडी र हिमाली भू-भागमा साधारणतया बदलीको अवस्था रहेको छ भने अन्य स्थानमा मौसम मुख्यतया सफा छ।
आज दिउँसो कोशी, गण्डकी र कर्णाली प्रदेशका पहाडी तथा हिमाली भेगमा साधारणतया बादल लाग्नेछ। तराईका केही स्थानहरूमा भने बिहानको समयमा बाक्लो हुस्सु लाग्ने सम्भावना छ। महाशाखाका अनुसार कोशी, बागमती र गण्डकी प्रदेशको पहाडी तथा हिमाली भू-भागका थोरै स्थानहरूमा चट्याङ्गसहित हल्का वर्षा र हिमपातको सम्भावना रहेको छ। साथै लुम्बिनी, कर्णाली र सुदूरपश्चिमका एक-दुई स्थानमा पनि हल्का वर्षा र हिमपात हुन सक्ने देखिएको छ।
आज राति पनि गण्डकी प्रदेशको पहाडी र हिमाली भेगमा साधारणतया बादल लाग्नेछ। कोशी, बागमती र गण्डकी प्रदेशका उच्च पहाडी तथा हिमाली भू-भागका एक-दुई स्थानमा राति पनि हल्का वर्षा र हिमपात हुन सक्ने महाशाखाले जनाएको छ। तराईका थोरै स्थानमा भने रातिको समयमा पनि तुवाँलो लाग्न सक्नेछ।




