नुवाकोट । स्थानीय बासिन्दाको कडा अवरोधका कारण बञ्चरेडाँडा ल्यान्डफिल साइटमा काठमाडौँ उपत्यकाको फोहर विसर्जन कार्य पुनः ठप्प भएको छ। काठमाडौँ महानगरपालिका र सहरी विकास मन्त्रालयसँग विगतमा भएका सहमतिहरू कार्यान्वयन नभएको विरोधमा प्रभावित क्षेत्रका बासिन्दाले फोहर फाल्न रोकेका हुन्।
विगतका सहमतिहरूलाई ‘उधारो’ संज्ञा दिँदै स्थानीयले आफ्ना माग पूरा नहुञ्जेल अवरोध जारी राख्ने अडान लिएका छन्। स्थानीय निरञ्जन सञ्जेलका अनुसार काठमाडौँबाट फोहर बोकेर आएका गाडीहरूलाई नुवाकोट र धादिङको सीमा क्षेत्र ढाँडेबाटै फिर्ता पठाइएको छ। पटक–पटक प्रतिबद्धता जनाए पनि आफूहरूको समस्या समाधानमा सरकार गम्भीर नभएको उनीहरूको आरोप छ।
नुवाकोटको ककनी गाउँपालिका र धादिङको धुनबेँसी नगरपालिकाका प्रभावित वडाहरूका बासिन्दाहरूले सडकमै बसेर गाडीहरू रोकेका हुन्। यस अवरोधमा स्थानीय जनप्रतिनिधि र राजनीतिक दलका नेताहरूले पनि ऐक्यबद्धता जनाउँदै समर्थन गरेका छन्। यसअघि गत कात्तिक १६ गते सहरी विकासमन्त्रीले सहमति कार्यान्वयन गर्ने आश्वासन दिएपछि मात्रै अवरोध हटेको थियो।
बञ्चरेडाँडामा फोहर विसर्जन रोकिँदा काठमाडौँ उपत्यकाको चोक र गल्लीहरूमा पुनः फोहर थुप्रिने जोखिम बढेको छ। स्थानीयले आफ्ना मागमा ठोस सम्बोधन नभए कडा आन्दोलनमा जाने चेतावनी दिएका छन्, जसले गर्दा उपत्यकाको फोहर व्यवस्थापन फेरि एकपटक संकटमा पर्ने देखिएको छ।





