काठमाडाैं । पश्चिम एसियाको तनावपूर्ण परिस्थितिका कारण अलपत्र परेका नेपालीहरूको उद्धार कार्यलाई सरकारले तीव्रता दिएको छ। नेपाल वायुसेवा निगमले सरकारसँगको समन्वयमा विशेष चार्टर उडानमार्फत दुबई लगायतका क्षेत्रबाट नागरिकहरूलाई स्वदेश फर्काउन थालेको हो।
निगमका प्रवक्ता देवेन्द्र पुनका अनुसार बिहीबार मात्रै दुबई विमानस्थलमा रोकिएका २७२ जना नेपालीलाई काठमाडौँ ल्याइएको छ। सोही विमानले यताबाट दुबई जान ठिक्क परेका २६० जना यात्रुलाई उता पुर्याएको थियो। उद्धारको यो क्रम शुक्रबार पनि जारी रहनेछ। आज २६७ जना यात्रु बोकेर दुबई उडेको निगमको जहाजले त्यहाँबाट १६४ जना नेपालीलाई लिएर फर्कने कार्यक्रम रहेको छ।
पश्चिम एसियाली आकाशमा देखिएको सुरक्षा संकटका कारण गत फागुन १६ गतेदेखि उडानहरू ठप्प भएका थिए। अमेरिका र इजरायलले इरानमाथि संयुक्त हवाई आक्रमण गरेपछि उत्पन्न तनावका कारण सो क्षेत्रको हवाई मार्ग प्रयोगमा निषेध गरिएको हो। सोही कारण अलपत्र परेका नेपालीलाई सुरक्षित अवतरण गराउन निगमले विशेष पहल गरिरहेको छ।





