काठमाडौँ । हाल नेपालमा पश्चिमी न्यूनचापीय प्रणाली, स्थानीय वायु र तल्लो वायुमण्डलमा रहेको न्यून चापीय क्षेत्रको आंशिक प्रभाव रहेको छ। मौसम पूर्वानुमान महाशाखाका अनुसार यसको प्रभावले अहिले गण्डकी, कर्णाली र सुदूरपश्चिम प्रदेशमा साधारणतया बदली हुनुका साथै बाँकी प्रदेशहरूमा आंशिक बादल लागिरहेको छ। अहिले बागमती, कर्णाली र सुदूरपश्चिम प्रदेशका थोरै स्थानहरूमा मध्यमसम्मको वर्षा भइरहेको छ।
आज दिउँसो कोशी प्रदेश लगायत देशका अन्य हिमाली र पहाडी भूभागमा साधारणतया बदली रहने महाशाखाले जनाएको छ। तराई भूभागमा भने आंशिक बादल लाग्ने सम्भावना छ। कोशी, बागमती र गण्डकी प्रदेशका हिमाली तथा पहाडी भूभागका केही स्थानहरू र बाँकी हिमाली तथा पहाडी भूभागका थोरै स्थानहरूमा चट्याङ्गसहित मध्यमसम्म वर्षा र हिमपातको सम्भावना रहेको छ। यस्तै, तराईका एक-दुई स्थानमा पनि चट्याङ्गसहित वर्षा हुन सक्ने देखिएको छ।
आज राति पनि कोशी, मधेस, बागमती र गण्डकी प्रदेशलगायत देशका हिमाली र पहाडी भूभागमा साधारणतया बदली रहनेछ। कोशी, मधेस र बागमती प्रदेशका केही स्थानहरूमा र बाँकी हिमाली तथा पहाडी भूभागका थोरै स्थानहरूमा चट्याङ्गसहित वर्षा र हिमपातको सम्भावना कायमै रहने महाशाखाले जनाएको छ। तराई भूभागका पनि केही स्थानमा चट्याङ्गसहित मध्यमसम्मको वर्षा हुन सक्ने भएकाले सतर्क रहन आग्रह गरिएको छ।





