काठमाडौँ । हाल नेपालमा पश्चिमी न्यूनचापीय प्रणाली र स्थानीय वायुको प्रभाव रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ। यसको प्रभावले कोशी, मधेस, बागमती र गण्डकी प्रदेश लगायत देशका हिमाली र पहाडी भूभागमा साधारणतया बदली भइरहेको छ भने बाँकी भूभागमा आंशिक बदली रहेको छ। हाल बागमती र गण्डकी प्रदेशका थोरै स्थानहरूमा हल्का वर्षा भइरहेको महाशाखाको भनाइ छ।
आज दिउँसो कोशी, मधेस, बागमती र गण्डकी प्रदेश लगायत देशका हिमाली र पहाडी भूभागमा साधारणतया बादल लाग्ने सम्भावना छ। कोशी, बागमती र गण्डकी प्रदेशका केही स्थानहरू, मधेस प्रदेश लगायत अन्य पहाडी भूभागका थोरै स्थानहरू र तराईका एक-दुई स्थानमा चट्याङ्गसहित मध्यमसम्म वर्षा र हिमपातको सम्भावना रहेको छ। विशेष गरी सुदूरपश्चिम प्रदेशका पहाडी तथा तराईका केही जिल्लाहरूमा हावाहुरी, असिना र चट्याङ्गको समेत सम्भावना रहेकाले सतर्क रहन आग्रह गरिएको छ।
आज राति पनि कोशी, मधेस, बागमती र गण्डकी प्रदेश लगायत देशका हिमाली र पहाडी भूभागमा साधारणतया बदली रहनेछ। कोशी, मधेस, बागमती र गण्डकी प्रदेशका थोरै स्थानहरूमा तथा अन्य प्रदेशका हिमाली र पहाडी भूभागका एक-दुई स्थानमा चट्याङ्गसहित मध्यमसम्मको वर्षा र हिमपात हुन सक्ने महाशाखाले पूर्वानुमान गरेको छ।





