काठमाडौँ । हाल नेपालमा पश्चिमी वायु, स्थानीय वायु र तल्लो वायुमण्डलमा रहेको न्यून चापीय क्षेत्र गरी तीनवटा प्रणालीको मिश्रित प्रभाव रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ। यसको प्रभावले अहिले कोशी, बागमती र गण्डकी प्रदेशका पहाडी तथा हिमाली भूभागमा साधारणतया बदली रहेको छ भने अन्य क्षेत्रमा आंशिक बदली छ। हाल बागमती र गण्डकीका थोरै स्थान र कोशी प्रदेशका एक–दुई स्थानमा हल्का वर्षा भइरहेको छ।
आज दिउँसो कोशी, बागमती र गण्डकी प्रदेश लगायत देशका पहाडी भेगमा साधारणतया बदली रहनेछ। कोशी, बागमती र गण्डकीका केही स्थानहरूका साथै अन्य पहाडी भूभागका थोरै स्थानमा चट्याङ्गसहित हल्कादेखि मध्यम वर्षा र हिमपातको सम्भावना रहेको छ। तराईका एक–दुई स्थानमा पनि फाट्टफुट्ट वर्षा हुन सक्ने महाशाखाको पूर्वानुमान छ।
आज राति पनि कोशी, मधेस, बागमती र गण्डकी प्रदेश लगायत पहाडी भूभागमा बदलीकै अवस्था रहनेछ। कोशी र मधेस प्रदेशका थोरै स्थानहरूमा तथा कर्णाली र सुदूरपश्चिमका हिमाली भूभागका एक–दुई स्थानमा चट्याङ्गसहित वर्षा र हिमपात हुन सक्ने देखिएको छ। मौसममा आएको यो फेरबदलका कारण आवश्यक सतर्कता अपनाउन महाशाखाले अनुरोध गरेको छ।





