प्रधानन्यायाधीश शर्माले पदभार ग्रहण गरेकै भोलिपल्ट वरिष्ठतम न्यायाधीश सपना मल्ल प्रधान २० दिनका लागि बिदामा

काठमाडौँ । सर्वोच्च अदालतमा नवनियुक्त प्रधानन्यायाधीश डा. मनोजकुमार शर्माले पदभार ग्रहण गरेसँगै वरिष्ठतम न्यायाधीश सपना मल्ल प्रधान २० दिनका लागि बिदामा बसेकी छिन्। न्यायाधीश प्रधानले आफैँले बिदा स्वीकृत गरेर बुधबारदेखि बिदामा बसेको सर्वोच्च अदालतका प्रवक्ता अर्जुनप्रसाद कोइरालाले जानकारी दिएका छन्।

मङ्गलवार साँझ शर्मा प्रधानन्यायाधीशको पदभार ग्रहणका लागि सर्वोच्च आउनुअघि नै न्यायाधीश प्रधानले बुधबारबाट लागू हुने गरी आफ्नो २० दिने बिदा स्वीकृत गरेकी हुन्। यसअघिका प्रधानन्यायाधीश प्रकाशमानसिंह राउत ६५ वर्षे उमेरहदका कारण अवकाश भएपछि वरिष्ठतम न्यायाधीश मल्लले २०८२ चैत १८ गतेदेखि कामु प्रधानन्यायाधीशको जिम्मेवारी सम्हाल्दै आएकी थिइन्।

संवैधानिक परिषद्ले वरिष्ठताको परम्परा मिचेर वरीयतामा चौथो नम्बरमा रहेका डा. शर्मालाई प्रधानन्यायाधीशमा सिफारिस गरेपछि न्यायाधीश प्रधान असन्तुष्ट थिइन्। परिषद्ले शर्मालाई सिफारिस गरेको दोस्रो दिन नै कामु प्रधानन्यायाधीशको हैसियतमा मल्लले सर्वोच्चको पूर्ण बैठक (फुलकोर्ट) बोलाएकी थिइन्। उक्त फुलकोर्ट बैठकमा प्रधानन्यायाधीश सिफारिसको विषयलाई लिएर न्यायाधीशहरूबीच तीव्र नोकझोक र विवाद भएको थियो।

त्यस बेलाको आन्तरिक विवाद र असमझदारीपछि सिफारिसमा परेका न्यायाधीश शर्मा वैशाख २५ गतेदेखि सर्वोच्चको इजलासमा बस्न छाडेका थिए। तर, मङ्गलवार प्रधानन्यायाधीशको रूपमा शपथ र पदभार ग्रहण गरेसँगै शर्मा बुधबारदेखि पुनः नियमित इजलासमा फर्किएका छन्। अर्कोतर्फ, कामु प्रधानन्यायाधीशको रूपमा नेतृत्व सम्हालिसकेकी वरिष्ठतम न्यायाधीश मल्ल शर्माको आगमनकै दिनदेखि लामो बिदामा बस्नुलाई न्यायालयभित्रको बदलिँदो आन्तरिक शक्तिको टकराव र असन्तुष्टिका रूपमा हेरिएको छ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

नोट :हजुरको पनि गाउँ, टोल, छर-छिमेक वा समाजमा कुनै सुचना, संदेश, या नयाँ जानकारी छन् भने, तत्काल हामीलाई सम्पर्क गर्नुहोस, हामि त्यसलाई समाचार बनाउने छौं । साथै suryapatra.com बाट प्रकाशित समाचारमा कुनै सुझाव,सल्लाह र प्रतिक्रिया भए वा बिज्ञापन दिनु परेमा हामीलाई सम्पर्क गर्नुहोस जसको लागि हाम्रो इमेल :[email protected] तपाईं हामी सँग फेसबुक र ट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।

थप समाचार

ताजा