काठमाडौँ । संघीय प्रतिनिधिसभाको बैठक सूचना टाँसेर भोलि मंगलबार दिउँसो १ बजेसम्मका लागि स्थगित भएको छ. विपक्षी दलहरूले सदनको कार्यसूचीमा प्रवेश गर्न नदिएपछि सुरुमा १५ मिनेटका लागि स्थगित गरिएको बैठक अन्ततः सूचना टाँसेर भोलिसम्मका लागि स्थगित गरिएको हो. संघीय संसद् सचिवालयका महासचिव पद्मप्रसाद पाण्डेले यसबारे औपचारिक सूचना जारी गरेका छन्.
प्रतिनिधिसभा बैठक अवरुद्ध हुनुको मुख्य कारण प्रधानमन्त्री बालेन्द्र (बालेन) शाहको हालैको एक अभिव्यक्ति बनेको छ. प्रधानमन्त्री शाहले गत जेठ १७ गते प्रतिनिधिसभा बैठकमा सम्बोधन गर्ने क्रममा ‘नेपालले पनि भारतको सीमा मिचेको छ’ भनी दिएको अभिव्यक्तिप्रति विपक्षी दलहरूले तीव्र आपत्ति जनाएका छन्. विपक्षी दलहरूले उक्त अभिव्यक्ति संसद्को रेकर्डबाट हटाउनुपर्ने र प्रधानमन्त्रीले आफैँ रोष्टममा उभिएर क्षमायाचना (माफी) माग्नुपर्ने अडान राख्दै आएका छन्. प्रधानमन्त्रीले संसद्मा आफ्ना भनाइबारे प्रष्टीकरण र क्षमायाचना नगरेसम्म सदन चल्न नदिने विपक्षी दलहरूको अडानका कारण सोमबारको बैठक पनि प्रभावित बन्न पुगेको हो.





