काठमाडौँ । हाल नेपालमा उपल्लो वायुमण्डलमा रहेको पश्चिमी न्यून चापीय रेखा, स्थानीय वायु तथा पूर्वीय वायुको समेत आंशिक प्रभाव रहेको छ। जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाका अनुसार यस मौसमी प्रणालीका कारण हाल कर्णाली र सुदूरपश्चिम प्रदेश लगायत कोशी, बागमती, गण्डकी र लुम्बिनी प्रदेशको हिमाली तथा पहाडी भू-भागमा साधारणतया बादल र बाँकी भू-भागमा आंशिक बदली रहेको छ।
आज ३० जेठ शनिबार दिउँसो कोशी प्रदेशलगायत देशको हिमाली र पहाडी भू-भागमा साधारणतया बादल लाग्नेछ भने बाँकी तराई भू-भागमा आंशिक बदली रहने महाशाखाले जनाएको छ। यो अवधिमा कोशी प्रदेशलगायत बागमती र गण्डकी प्रदेशका हिमाली तथा पहाडी भू-भागका थोरै स्थानहरूमा र बाँकी पहाडी तथा तराई भू-भागका एक-दुई स्थानमा मेघगर्जन र चट्याङ्गसहित मध्यमसम्म वर्षाको सम्भावना रहेको छ।
यसैगरी आज रातिको समयमा पनि कोशी प्रदेशलगायत बागमती र गण्डकी प्रदेशको हिमाली र पहाडी भू-भागमा साधारणतया बदली रहनेछ। मधेस प्रदेशलगायत बाँकी हिमाली र पहाडी भू-भागमा आंशिक बादल लागे पनि तराई भू-भागमा भने मौसम मुख्यतया सफा रहने महाशाखाको पूर्वानुमान छ। राति कोशी, मधेस, बागमती र गण्डकी प्रदेशको हिमाली तथा पहाडी भू-भागका थोरै स्थानहरूमा र बाँकी पहाडी तथा हिमाली भू-भागका एक-दुई स्थानमा चट्याङ्गसहित मध्यम वर्षाको सम्भावना छ। विशेष गरी कोशी प्रदेशका एक-दुई स्थानमा भारी वर्षाको समेत सम्भावना रहेकाले ती क्षेत्रका बासिन्दालाई आवश्यक सतर्कता अपनाउन महाशाखाले अनुरोध गरेको छ।




