काठमाडौँ । जल तथा मौसम पूर्वानुमान महाशाखाका अनुसार सोमबार देशका हिमाली र पहाडी भू-भागका साथै कोशी प्रदेशको तराई क्षेत्रमा साधारणतया बदली रहनेछ। मधेश, बागमती र गण्डकी प्रदेशमा आंशिक बादल लाग्ने भए तापनि लुम्बिनी र सुदूरपश्चिम प्रदेशको तराई भू-भागमा भने मौसम मुख्यतया सफा रहने देखिन्छ।
मौसमविद्हरूका अनुसार आज दिउँसो कोशी प्रदेशका हिमाली र पहाडी भू-भागका केही स्थानहरूमा तथा बागमती र गण्डकी प्रदेशका हिमाली एवं पहाडी क्षेत्रका थोरै स्थानमा मेघगर्जन र चट्याङ्गसहित मध्यमसम्मको वर्षा र हिमपातको सम्भावना छ। यसै गरी लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशका हिमाली तथा पहाडी भू-भागका एक-दुई स्थानमा पनि हल्कादेखि मध्यम वर्षा र हिमपात हुन सक्नेछ। तराईतर्फ कोशी प्रदेशका थोरै स्थान र मधेश प्रदेशका एक-दुई स्थानमा मेघगर्जन र चट्याङ्गसहित पानी पर्ने अनुमान गरिएको छ। यद्यपि, पश्चिम नेपालमा गर्मीको प्रकोप कायमै रहने देखिन्छ; लुम्बिनी र सुदूरपश्चिमको तराईका केही स्थानमा तातो लहर (लू) चल्ने तथा बागमती र गण्डकी प्रदेशका तराई क्षेत्रमा समेत तातो दिन हुने सम्भावना छ।
रातिको समयमा कोशी, बागमती र गण्डकी प्रदेशका हिमाली तथा पहाडी भू-भागका साथै कोशीको तराई क्षेत्रमा साधारणतया बादल लागिरहनेछ। मधेश प्रदेश र लुम्बिनी, कर्णाली र सुदूरपश्चिमका हिमाली तथा पहाडी क्षेत्रमा आंशिक बदली हुने भए पनि बाँकी तराई क्षेत्रमा मौसम सफा रहनेछ। राति कोशी, बागमती र गण्डकी प्रदेशका पहाडी र हिमाली क्षेत्रका थोरै स्थानमा चट्याङ्गसहित मध्यम वर्षा र हिमपातको सम्भावना छ भने मधेश प्रदेश र कोशीको तराईका थोरै स्थानमा पनि मेघगर्जनसहित मध्यम वर्षा हुन सक्ने महाशाखाले जनाएको छ।





