काठमाडौँ । जल तथा मौसम पूर्वानुमान महाशाखाका अनुसार शनिबार দেশका हिमाली र पहाडी भू-भागका साथै मधेश र कोशी प्रदेशको तराई क्षेत्रमा साधारणतया बदली रहनेछ। बागमती, गण्डकी र लुम्बिनी प्रदेशको तराई क्षेत्रमा आंशिक बादल लाग्ने भए तापनि सुदूरपश्चिम प्रदेशको तराई भू-भागमा भने मौसम मुख्यतया सफा रहने देखिन्छ।
मौसमविद्हरूका अनुसार आज दिउँसो देशका हिमाली तथा पहाडी भू-भागका थोरै स्थानहरूमा मेघगर्जन र चट्याङ्गसहित मध्यमसम्मको वर्षा र हिमपातको सम्भावना छ। यस्तै कोशी प्रदेशको तराई भू-भाग र मधेश प्रदेशका थोरै स्थानमा तथा बागमती, गण्डकी र लुम्बिनी प्रदेशको तराईका एक-दुई स्थानमा मेघगर्जन र चट्याङ्गसहित मध्यम वर्षा हुन सक्नेछ। पश्चिम नेपालमा गर्मीको प्रकोप केही क्षेत्रमा कायमै रहने देखिन्छ; सुदूरपश्चिमको तराईका केही स्थानमा तातो लहर (लू) चल्ने तथा लुम्बिनी प्रदेशको तराई क्षेत्रका थोरै स्थानमा तातो दिन हुने सम्भावना छ।
रातिको समयमा कोशी, मधेश, बागमती र गण्डकी प्रदेशमा साधारणतया बादल लागिरहनेछ। लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशको हिमाली तथा पहाडी भू-भागमा आंशिक बदली हुने भए पनि लुम्बिनी र सुदूरपश्चिमको तराई क्षेत्रमा भने मौसम मुख्यतया सफा रहनेछ। राति कोशी, बागमती र गण्डकी प्रदेशको हिमाली तथा पहाडी भू-भागका केही स्थानमा तथा लुम्बिनी र कर्णालीको पहाडी क्षेत्रका एक-दुई स्थानमा चट्याङ्गसहित मध्यमसम्मको वर्षा र हिमपातको सम्भावना छ। साथै कोशी, बागमती र गण्डकी प्रदेशका तराई भू-भाग र मधेश प्रदेशका केही स्थानमा मेघगर्जन र चट्याङ्गसहित मध्यम वर्षा हुन सक्ने महाशाखाले जनाएको छ।





