काठमाडौँ । देशभर मनसुनी वायुको प्रभाव कायमै रहँदा शनिबार पनि देशका अधिकांश भू-भागमा वर्षा तथा हिमपातको सम्भावना रहेको छ। मौसम पूर्वानुमान अनुसार शनिबार दिउँसो हिमाली, पहाडी तथा बागमती, गण्डकी, लुम्बिनी र सुदूरपश्चिम प्रदेशका तराई भू-भागमा साधारणतया बादल लाग्नेछ भने मधेस र कोशी प्रदेशको तराई क्षेत्रमा आंशिक बदली रहनेछ।
शनिबार दिउँसो गण्डकी, लुम्बिनी र कर्णाली प्रदेशका पहाडी भू-भागका एक-दुई स्थानमा भारी वर्षाको सम्भावना रहेको छ। साथै, देशका हिमाली र पहाडी भू-भागका केही स्थानमा मेघगर्जन र चट्याङ्गसहित हल्कादेखि मध्यम वर्षा तथा उच्च हिमाली भेगमा हिमपातको सम्भावना छ। तराई क्षेत्रतर्फ बागमती, गण्डकी, लुम्बिनी र सुदूरपश्चिम प्रदेशका तराईका थोरै स्थानहरूमा तथा मधेस र कोशी प्रदेशको तराईका एक-दुई स्थानमा मेघगर्जन र चट्याङ्गसहित मध्यम वर्षा हुने पूर्वानुमान गरिएको छ।
रातिको समयमा पनि देशभर साधारणतया बादल लाग्नेछ। राति बागमती र गण्डकी प्रदेशका साथै कोशी प्रदेशका पहाडी भू-भागका एक-दुई स्थानमा भारी वर्षाको सम्भावना रहेको छ।
त्यसैगरी राति कोशी, बागमती, गण्डकी र लुम्बिनी प्रदेशका हिमाली तथा पहाडी भू-भागका केही स्थानमा र कर्णाली तथा सुदूरपश्चिमका थोरै स्थानमा मध्यम वर्षा र हिमपातको सम्भावना छ। तराईतर्फ बागमती र गण्डकीका केही स्थान, कोशी र मधेसका थोरै स्थान तथा लुम्बिनी र सुदूरपश्चिमका एक-दुई स्थानमा मध्यम वर्षा हुन सक्नेछ। भारी वर्षा र हिमपातको जोखिम रहेका क्षेत्रहरूमा बाढी, पहिरो तथा डुबानबाट बच्न आवश्यक सतर्कता अपनाउन आग्रह गरिएको छ।





