काठमाडौँ । आषाढ शुक्ल एकादशी अर्थात् हरिशयनी एकादशीका अवसरमा आज देशभरका हिन्दु धर्मावलम्बीहरूले घरघरमा तुलसीको बिरुवा सारेर विशेष पूजा आराधना गर्दैछन्। आजदेखि कार्तिक शुक्ल एकादशी (हरिबोधिनी एकादशी) सम्मका चार महिना तुलसीको विशेष पूजा गरिनुका साथै चतुर्मास व्रत सुरु हुने गर्दछ।
सनातन वैदिक परम्परा अनुसार तुलसीलाई भगवान् विष्णुको प्रतीक मानिन्छ। एक महिनाअघि ज्येष्ठ शुक्ल एकादशीका दिन राखिएको तुलसीको दललाई आज विधिपूर्वक मोठमा सार्ने परम्परा छ। आजको दिनदेखि चार महिनासम्म भगवान् विष्णु क्षीरसागरमा शयन गर्ने धार्मिक विश्वास रहेकाले यस अवधिलाई ‘चतुर्मास’ भनिएको हो। एकादशीको दिन चामलबाट बनेका परिकार नखाई फलाहार गरेर व्रत बस्ने चलन रहेको छ भने उपत्यकाका बुढानीलकण्ठ, चार नारायण लगायत देशभरका विष्णु एवं नारायण मन्दिरहरूमा बिहानैदेखि भक्तजनको घुइँचो लाग्ने गर्दछ।
धार्मिक मात्र नभई वैज्ञानिक दृष्टिकोणले पनि तुलसीको निकै ठुलो महत्त्व रहेको छ। अत्यधिक अक्सिजन प्रवाह गर्ने र बहुगुणी औषधिको रूपमा प्रयोग हुने तुलसीले वरपरको वातावरणलाई शुद्ध राख्न र रोग सार्ने विषालु कीटाणुहरूलाई टाढा राख्न मद्दत गर्दछ। वास्तु दोष निवारणका लागि समेत तुलसीलाई उपयोगी मानिन्छ। चार महिनासम्म निरन्तर पूजा आराधना गरिएको तुलसीलाई हरिबोधिनी एकादशीका दिन भगवान् दामोदरसँग विधिपूर्वक विवाह गराइदिएपछि चतुर्मास व्रतको समापन हुने वैदिक मान्यता रहेको छ।




