काठमाडौँ । वर्षौंदेखि बन्द अवस्थामा रहेका, लगातार घाटामा थलिएका र निराशाले घेरिएका राष्ट्रिय उद्योग तथा सार्वजनिक संस्थानहरूमा सुधारका सकारात्मक सङ्केत देखिन थालेका छन्। प्रधानमन्त्री बालेन्द्र शाह (बालेन) नेतृत्वको नयाँ सरकार गठन भएसँगै निरन्तरको सहजीकरण, इमानदार प्रयास र कानुन कार्यान्वयनका कारण सरकारी स्वामित्वका संस्थानहरूको वित्तीय तथा भौतिक स्थिति सुध्रिँदै गएको दाबी गरिएको छ।
यसैबिच, नेपाल औषधि लिमिटेड, हेटौँडा कपडा उद्योग, नेपाल वायुसेवा निगम, दुग्ध विकास संस्थान (डीडीसी) र सिंहदरबार वैद्यखाना विकास समितिको प्रगति विवरण समेटेर ५ बुँदे विवरण सार्वजनिक गरिएको छ। जसअनुसार नेपाल औषधि लिमिटेडले पछिल्लो चार महिनामा २ करोड ३८ लाख रुपैयाँको औषधि बिक्री गर्नुका साथै गत आर्थिक वर्षमा ३ करोड रुपैयाँ नाफा कमाएको छ। साथै, लामो समयदेखि बन्द रहेको हेटौँडा कपडा उद्योगमा नेपाली सेनामार्फत परीक्षण उत्पादन सुरु भइसकेको छ।
त्यसै गरी, नेपाल वायुसेवा निगमले चार महिनाको अवधिमा ६ अर्ब २७ करोड ६३ लाख रुपैयाँ आम्दानी गर्दै ऋणबापतको १ अर्ब ६ करोड रुपैयाँ किस्ता भुक्तानी गरेको छ। उता दुग्ध विकास संस्थान (डीडीसी) ले किसानको बक्यौता भुक्तानी चक्र ८ महिनाबाट घटाएर २–३ महिनामा झारेको छ भने सिंहदरबार वैद्यखानाले कारोबार ४ गुणाले बढाउँदै १३ करोड रुपैयाँ पुर्याएको छ। नियत सफा र इमानदार प्रयास भए रुग्ण संस्थानहरूलाई पुनः आत्मनिर्भर बनाउन सकिने सरकारको निष्कर्ष छ।




