मौसम अपडेट: आज देशभर वर्षाको सम्भावना, राति विभिन्न प्रदेशमा ‘धेरै भारी’ वर्षाको चेतावनी

काठमाडौँ । मुलुकभर मनसुनी वायुको प्रभाव कायमै रहँदा आज (सोमबार) देशभरको मौसममा साधारणतया बदली रहने जल तथा मौसम विज्ञान विभागले जनाएको छ। देशभर साधारणतया बादल लाग्नेछ भने पहाडी तथा तराईका अधिकांश क्षेत्रमा मेघगर्जन र चट्याङ्गसहित वर्षा तथा हिमाली भू-भागमा हिमपातको सम्भावना रहेको छ।

आज दिउँसो देशका हिमाली भू-भागका केही स्थानमा मेघगर्जन र चट्याङ्गसहित मध्यमसम्मको वर्षा तथा हिमपात हुनेछ भने पहाडी भू-भागका धेरै स्थानमा मध्यम वर्षाको सम्भावना छ। कोशी, लुम्बिनी र सुदूरपश्चिम प्रदेशका तराई भू-भागका केही स्थानका साथै मधेस, बागमती र गण्डकी प्रदेशका तराई क्षेत्रमा समेत मेघगर्जनसहित मध्यम वर्षा हुनेछ। विशेष गरी कोशी, बागमती र गण्डकी प्रदेशका हिमाली तथा पहाडी भू-भाग, कर्णाली र सुदूरपश्चिम प्रदेशको पहाडी भू-भागका साथै लुम्बिनी प्रदेशको पहाडी तथा तराई भू-भागका एक-दुई स्थानमा भारी वर्षाको सम्भावना रहेको हुनाले सतर्कता अपनाउन आग्रह गरिएको छ।

त्यसैगरी आज राति पनि देशभरको मौसम पूर्ण रूपमा बदली नै रहनेछ। रातिको समयमा देशका पहाडी भू-भागका साथै बागमती, गण्डकी, लुम्बिनी र सुदूरपश्चिम प्रदेशका तराई भू-भागका धेरै स्थानमा मेघगर्जन र चट्याङ्गसहित मध्यम वर्षा हुनेछ भने मधेस र कोशी प्रदेशका तराई भू-भागका थोरै स्थानमा वर्षा हुनेछ। रातिको समयमा कोशी, बागमती र गण्डकी प्रदेशका हिमाली र पहाडी भू-भाग, कर्णाली प्रदेशको पहाडी भू-भागका साथै लुम्बिनी र सुदूरपश्चिम प्रदेशको पहाडी र तराई भू-भागका थोरै स्थानमा भारी वर्षा तथा एक-दुई स्थानमा धेरै भारी वर्षाको उच्च जोखिम रहेको छ। लगातारको भारी वर्षाका कारण गेग्रान बहाव, बाढी, पहिरो तथा डुबानको खतरा रहने भएकाले नदी तटीय क्षेत्र तथा भिरालो जमिन आसपासका बासिन्दालाई विशेष सचेत रहन अपिल गरिएको छ।

नोट :हजुरको पनि गाउँ, टोल, छर-छिमेक वा समाजमा कुनै सुचना, संदेश, या नयाँ जानकारी छन् भने, तत्काल हामीलाई सम्पर्क गर्नुहोस, हामि त्यसलाई समाचार बनाउने छौं । साथै suryapatra.com बाट प्रकाशित समाचारमा कुनै सुझाव,सल्लाह र प्रतिक्रिया भए वा बिज्ञापन दिनु परेमा हामीलाई सम्पर्क गर्नुहोस जसको लागि हाम्रो इमेल :-suryapatra.org@gmail.com तपाईं हामी सँग फेसबुक र ट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।

थप समाचार

ताजा