काठमाडौँ । नेपाल र चीनको सीमावर्ती क्षेत्र तिब्बतमा भीषण पहिरोपछि बनेको कृत्रिम ताल फुट्ने जोखिम बढेसँगै चिनियाँ अधिकारीहरूले उद्धार कार्य तत्कालका लागि स्थगित गरेका छन्। गत बुधबार आएको भीषण पहिरो तथा लेदोसहितको बाढीले नेपाल–चीन सीमास्थित जिरोङ (केरुङ) नाकामा ठूलो भौतिक क्षति पुर्याएको थियो।
पहिरोको भग्नावशेषका कारण नदी थुनिएर बनेको तालको जलस्तर लगातारको भारी वर्षाका कारण उच्च बिन्दुमा पुगेको छ। उक्त ताल जुनसुकै बेला फुट्न सक्ने र त्यसले तल्लो तटीय क्षेत्रहरूमा थप विनाश निम्त्याउन सक्ने खतरा बढेपछि चिनियाँ राज्य नियन्त्रित सञ्चारमाध्यमहरूले उद्धारकर्मीहरूलाई सुरक्षित स्थानमा बस्न र तत्काल खोज तथा उद्धार कार्य रोक्न निर्देशन दिएको जनाएका छन्। हाल अधिकारीहरूले जिरोङ नाकाभन्दा माथिल्लो क्षेत्रमा तीव्र गतिमा बढिरहेको पानीको सतहलाई नजिकबाट नियालिरहेका छन्।
अन्तर्राष्ट्रिय सञ्चारमाध्यम बीबीसीका अनुसार यस प्राकृतिक विपत्तिमा परी तिब्बततर्फ अहिलेसम्म ५५० भन्दा बढी नागरिक बेपत्ता भएका छन्। बेपत्ता हुनेहरूमध्ये २६० जना विदेशी पर्यटक तथा पवित्र कैलाश मानसरोवरको दर्शनका लागि गएका तीर्थयात्रीहरू रहेका छन्। भारी वर्षा जारी रहेकाले आगामी केही दिनसम्म बाढी र विपद्को जोखिम अझै बढ्न सक्ने अनुमान गरिएको छ भने थप मानवीय क्षति हुन नदिन उक्त क्षेत्रमा मानिसहरूको आवागमनमा समेत पूर्ण कडाइ गरिएको छ।





