पोखरा । रसुवाको भोटेकोशी बाढी विपद्मा ज्यान गुमाएकामध्ये विभिन्न जिल्लाहरूमा फेला परेका १०२ वटा शव कास्की ल्याइएपछि शव व्यवस्थापनमा कठिनाइ भएको छ। तनहुँ, नवलपुर, धादिङ र गोरखा लगायतका जिल्लामा फेला परेका ती शवहरूलाई हाल पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठानको शवगृहमा राखिएको छ।
कास्कीका प्रमुख जिल्ला अधिकारी कुमानसिंह गुरुङका अनुसार जिल्लास्थित शवगृहमा ८८ वटा शव मात्रै व्यवस्थापन गर्न सक्ने क्षमता रहेको र पहिले नै केही शव रहेकाले थप व्यवस्थापन निकै चुनौतीपूर्ण बनेको हो। हाल सङ्कलन गरिएका शवहरूमध्ये कतिपय पूर्ण शरीर नभई अङ्गहरू मात्र रहेको तथा केही साना बालबालिकाको शव भएकाले सानो बक्समा राखेर हालसम्म व्यवस्थापन मिलाइएको भए पनि अब थप शव राख्न सक्ने अवस्था नरहेको उनले बताए। हाल भएका शवहरूलाई क्रमशः आफन्तलाई हस्तान्तरण वा व्यवस्थापन गरेपछि मात्र नयाँ शव स्वीकार गर्न सकिने प्रशासनले जनाएको छ।
यसैबिच, सङ्कलन गरिएका शवहरूको पहिचान प्रक्रियालाई तीव्रता दिइएको छ। शवहरूको फोटो खिचेर आफन्तलाई पहिचान गराउने प्रयास भइरहेको छ भने सबै शवको डीएनए परीक्षणका लागि नमुना समेत सङ्कलन गरिसकिएको छ। लामो समयसम्म पहिचान हुन नसकेका वा दाबी गर्न कोही नआएका शवहरूलाई शव व्यवस्थापन कार्यविधिअनुसार अन्तिम संस्कार गरिने जिल्ला प्रहरी प्रमुख एसपी नवीन कार्कीले जानकारी दिए।





