नुवाकोट । रसुवाको भोटेकोशी तथा त्रिशूली नदीमा आएको भीषण बाढीका कारण क्षतिग्रस्त बनेका सडक र पुलहरूको पुनर्निर्माण कार्य तीव्र गतिमा अघि बढाइएको छ।
नेपाली सेना र सडक विभागको प्राविधिक टोलीले नुवाकोटको देवीघाटस्थित तादी खोलामा ६० मिटर लम्बाइको एक्रो ब्रिज (Acrow Bridge) जडान सुरु गरेका छन्। भदौ १० गतेको बाढीले यहाँको ५५ मिटर लामो पक्की पुल बगाएको थियो। देवीघाटमा पुल सञ्चालनमा आएपछि रसुवातर्फको यातायात र ढुवानी सेवा पुनः सञ्चालनमा आउनेछ। यस्तै, त्रिशूली बजार र बेत्रावतीमा तत्काल ४८ मिटरका बेलिब्रिज जडान गर्न आवश्यक सामग्री ढुवानी भइरहेको छ।
उता पृथ्वी राजमार्गअन्तर्गत त्रिशूली नदीको कटानमा परेको कृष्णभीर खण्डमा भित्तो काटेर २५२ मिटर अस्थायी ट्र्याक खोल्ने काम सम्पन्न भएको छ भने धादिङको परेवाभिर खण्डमा पनि मर्मत कार्य द्रुत पारिएको छ। चीन सरकारले कोराला नाका हुँदै उपलब्ध गराएको थप बेलिब्रिज सामग्रीहरू बाटो खुल्नासाथ स्याफ्रुबेँसी र रसुवागढी खण्डमा जडान गरिने सडक विभागले जनाएको छ।





