काठमाडौँ । पछिल्लो समय परेको अविरल वर्षा र बाढीपहिरोका कारण सञ्चालनमा रहेको नेपाल–चीन जोड्ने कोरला नाका बन्द भएको छ। नाका बन्द भएसँगै दुई देशबीचको अन्तर्राष्ट्रिय व्यापार पूर्ण रूपमा ठप्प हुन पुगेको छ।
रसुवागढी नाका यसअघि नै बाढीले बगाएको र तातोपानी नाका चीनले एकतर्फी बन्द गरेका बेला बेनी–जोमसोम सडक खण्डका विभिन्न स्थानमा क्षति पुगेपछि कोरला नाका पनि बन्द भएको हो। सडक विभागका अनुसार घासा–कोरला सडकको पहिरो हटाई दुईतर्फी यातायात सुरु भइसकेको छ भने मुस्ताङ–बेनी खण्डमा भित्तो काट्ने र पर्खाल लगाउने काम तीव्र गतिमा भइरहेको छ।
विभागले बिहीबार बेलुकासम्म यी सडक खण्ड मर्मत गरी यातायात पुनः सुचारु गर्ने लक्ष्य राखेको छ। यसका साथै तातोपानी, पोखरेबजार पुल, राघुघाट र मालढुंगा–बेनी क्षेत्रमा पनि ट्र्याक खोल्ने र टेवा पर्खाल लगाएर चाँडै यातायात सञ्चालनमा ल्याउने तयारी भइरहेको छ।





