सामाजिक तथा धार्मिक सद्भाव कायम राख्न प्रहरी महानिरीक्षक कार्कीको विशेष अपिल (भिडियो सम्बोधन)

काठमाडौँ । देशका विभिन्न भागमा धार्मिक तथा सामाजिक तनाव सिर्जना गर्ने गतिविधि बढेपछि नेपाल प्रहरीले सबै नागरिकहरूलाई संयमता अपनाउन र आपसी भाइचारा कायम राख्न विशेष आह्वान गरेको छ। नेपाल प्रहरीका महानिरीक्षक (आईजीपी) दानबहादुर कार्कीले एक भिडियो सम्बोधनमार्फत नेपाली समाजको मूल पहिचान मानिने ‘विविधतामा एकता’लाई अक्षुण्ण राख्न नागरिक स्तरबाटै जिम्मेवार भूमिकाको अपेक्षा गरिएको बताएका छन्।

विशेष गरी पूर्वी तराईका केही स्थानहरूमा धार्मिक सद्भावमा खलल पुर्‍याउने, अफवाह फैलाउने र समाजमा डर तथा त्रासको वातावरण सिर्जना गर्ने किसिमका गतिविधि देखिएको भन्दै प्रहरी नेतृत्वले चिन्ता व्यक्त गरेको छ। आईजीपी कार्कीले यस्ता नकारात्मक कार्यले कसैको पनि हित नगर्ने स्पष्ट पार्दै सामाजिक सञ्जाल वा अन्य माध्यमबाट उत्तेजक अभिव्यक्ति दिने र कानुनको उल्लंघन गर्नेहरूमाथि कडा निगरानी राखिने संकेत दिएका छन्।

हाम्रो धर्म, संस्कार र संस्कृति फरक भए पनि राष्ट्रिय भावना र पहिचान एउटै भएको उल्लेख गर्दै प्रहरीले एक-अर्काको आस्था र मर्यादाको सम्मान गर्न आग्रह गरेको छ। संवेदनशील समयमा सामाजिक अशान्ति र विभाजन फैलाउनुको सट्टा विवेक र सद्भावको बाटो रोज्न अनुरोध गर्दै प्रहरीले देशमा शान्तिसुरक्षा र अमनचयन कायम राख्न सबै क्षेत्रबाट सहयोगको अपेक्षा राखिएको जनाएको छ।

 

नोट :हजुरको पनि गाउँ, टोल, छर-छिमेक वा समाजमा कुनै सुचना, संदेश, या नयाँ जानकारी छन् भने, तत्काल हामीलाई सम्पर्क गर्नुहोस, हामि त्यसलाई समाचार बनाउने छौं । साथै suryapatra.com बाट प्रकाशित समाचारमा कुनै सुझाव,सल्लाह र प्रतिक्रिया भए वा बिज्ञापन दिनु परेमा हामीलाई सम्पर्क गर्नुहोस जसको लागि हाम्रो इमेल :-suryapatra.org@gmail.com तपाईं हामी सँग फेसबुक र ट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।

थप समाचार

ताजा