वैशाख १४। प्रदिप भण्डारी। नेपालजस्तो सुन्दर देशमा जन्मेर पनि लाखौँ युवाहरू आज बाध्यतावश विदेशिनु परेको छ। कतिपयले राम्रा अवसरका लागि, कतिपयले भने जिविकोपार्जनको बाध्यताले परदेश धाउने गरेका छन्। तर विदेशिनु भनेको सधैं सपना पुरा हुनु मात्रै होइन, कहिलेकाहीँ त्यो जिन्दगीकै कठिनतम यात्रा बन्न सक्छ।
जब मायाँ गर्ने प्रेमीलाई, अनि सारा जिन्दगी हाँसो र आशिर्वाद दिने आमा-बुबालाई छाडेर विदेश लागिन्छ, तब मात्र थाहा हुन्छ परदेशको पीडा के हो भन्ने। आमा-बुबाको आखाँमा लुकेको आशा र चिन्ताले बिदाइको दिनलाई झन पीडादायी बनाउँछ। मायाँले थाम्न खोजेका हातहरू टुटेर छुटिन्छन्। अनि ती परदेशीका आँखाबाट अविरल आँसु बग्छ, भलै उसको अनुहारमा साहसको मुस्कान देखिन्थ्यो।
परदेशमा पुगेपछि जिन्दगी फेरि सजिलो हुँदैन। गाढा थकाइ, कठोर श्रम र एक्लोपनाको भारीले थिचिन्छ मन। न त आफन्तहरू नजिक हुन्छन्, न त मायाँका आवाजहरू सुन्न पाइन्छ। पैसाका लागि गरिने संघर्षमा कतिपटक त शरीरभन्दा मन नै धेरै थाक्छ। समयमै तलब नपाउनु, कामको असुरक्षा, श्रमिकको अपमान जस्ता पीडाहरू विदेशिएका नेपालीहरूको सामान्य कथा बनेका छन्।
यसो हुँदा पनि देशभित्र फर्किदा छोराछोरीलाई राम्रो शिक्षा दिन, आमाबुबाको औषधि किन्न, घर बनाउने सपना पूरा गर्न उनीहरूले आँफैलाई बिर्सने प्रयास गर्छन्। भलै विदेशबाट आएको पैसा घरको छानो फेर्न सक्छ, तर टुटेको सम्बन्ध, हराएको समय र गुमाएको मायाँलाई किनेर फर्काउन सक्दैन।
विदेशिने बाध्यता केवल आर्थिक पक्षसँग मात्र जोडिएको छैन; यो त राज्यले सिर्जना गरेको अवसर अभाव, विकास योजनाको असफलता र युवाको क्षमताको अपमानसँग पनि गाँसिएको छ। सरकारले यथाशीघ्र स्वदेशमै रोजगारी सिर्जना गर्नेतर्फ ध्यान दिनुपर्छ। ताकि हामीलाई मायाँ गर्नेहरूलाई छोडेर भोट, मलेसिया, दुबई वा कोरियातिर भौंतारिन नपरोस्।
साँचेको पर्देश सम्भवत: सपनाको खोजी हो, तर भाग्यको पर्देश भने बाध्यताको पीडा हो। हामीले साँचेका सपना आफ्नै देशमा पूरा गर्न सक्ने वातावरण सिर्जना गर्नु आजको आवश्यकता
हो।





