दमक । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली आगामी निर्वाचनको तयारीका लागि आफ्नै निर्वाचन क्षेत्र झापा-५ मा निकै सक्रिय देखिएका छन्। अघिल्ला निर्वाचनहरूमा आमसभामा मात्र सीमित हुने ओली यसपटक भने मतदाताको घर-घरमै पुगेर प्रत्यक्ष भेटघाटमा जुटेका हुन्।
गत माघ २३ गते झापा आएर ७ दिनमा ८० वटा गाउँ घुमी काठमाडौँ फर्किएका ओली आज फेरि झापा प्रस्थान गर्दैछन्।
आज बिहान १०:२० मा भद्रपुर विमानस्थल ओर्लिएपछि उनी सिधै आफ्नो निर्वाचन क्षेत्रमा प्रवेश गर्नेछन्। आजको कार्यक्रम अनुसार उनी शिक्षक भेला, धिमाल जाति र मुस्लिम समुदायसँगको छुट्टाछुट्टै भेलामा सहभागी हुने एमाले झापाका सचिव तुलसी कार्कीले जानकारी दिए।
एमाले केन्द्रीय सदस्य देवेन्द्र दाहालका अनुसार ओली फागुन ६ गतेसम्म झापामै रहनेछन्। यस अवधिमा दमकका विभिन्न टोल र गाउँमा दैनिक ६ देखि ७ वटा कार्यक्रमहरूमा सहभागी भई उनले स्थानीयसँग प्रत्यक्ष संवाद गर्नेछन्। सोमबारका लागि दमकका यलम्बर चोक, शंखधर चोक, तबिन चोक लगायतका स्थानमा कार्यक्रम तय गरिएको छ।





