काठमाडौं । संयुक्त राज्य अमेरिका र इजरायलले शनिबार बिहान इरानमाथि अचानक सैन्य आक्रमण गरेसँगै मध्यपूर्वमा भीषण युद्धको अवस्था सिर्जना भएको छ।
इरानले पनि जवाफी कारबाही स्वरूप युएई, कुवेत, साउदी अरेबिया, बहराइन, जोर्डन र कतारस्थित अमेरिकी सैन्य बेसहरूमा मिसाइल वर्षा गरेको छ।
यो द्वन्द्व चर्किएसँगै युएईस्थित नेपाली दूतावासले त्यहाँ रहेका करिब सात लाख नेपाली नागरिकहरूका लागि विशेष सुरक्षा एड्भाइजरी जारी गरेको छ।
दूतावासले शनिबार एक विज्ञप्ति जारी गर्दै मध्यपूर्वमा विकसित परिस्थितिका कारण नेपालीहरूलाई अनावश्यक यात्रामा ननिस्कन र उच्च सावधानी अपनाउन आग्रह गरेको छ।
“नेपाली नागरिकहरूलाई सावधान रहन र युएई सरकारले जारी गरेका सुरक्षा मार्गदर्शन एवं सूचनाहरूको पूर्ण पालना गर्न अनुरोध गरिन्छ,” दूतावासले भनेको छ। कुनै समस्या परेमा नेपालीहरूलाई दूतावासको आपत्कालीन टेलिफोन नम्बर +९७१ ५०८१८०२८० मा सम्पर्क गर्न समेत सूचित गरिएको छ।
पछिल्लो मिसाइल आक्रमणका कारण क्षेत्रीय स्तरमा मानवीय क्षति समेत सुरु भएको छ। इरानले प्रहार गरेको मिसाइलका कारण युएईको राजधानी अबु धाबीमा १ जनाको मृत्यु भएको छ भने इराकमा रहेको सैन्य बेसमा भएको आक्रमणमा २ जनाको ज्यान गएको प्रारम्भिक विवरण प्राप्त भएको छ। यसरी हालसम्मको झडपमा कम्तीमा ३ जनाको मृत्यु भइसकेको छ।
इरानको प्रत्याक्रमणपछि युएई, कुवेत र इराकले आफ्नो हवाई क्षेत्र पूर्ण रूपमा बन्द गरेका छन्। यसका कारण १५ भन्दा बढी अन्तर्राष्ट्रिय वायुसेवा कम्पनीहरूले आफ्ना उडानहरू रद्द गरेका छन्। परराष्ट्र मन्त्रालयका अनुसार वैदेशिक रोजगारीका लागि सबैभन्दा ठुलो संख्यामा नेपालीहरू युएईमै रहेकाले सरकारले त्यहाँको परिस्थितिलाई नजिकबाट नियालिरहेको छ।





