चितवन । भरतपुरमा गत आइतबारदेखि जारी राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को पहिलो ऐतिहासिक महाधिवेशन नयाँ नेतृत्व र नीति तय गर्दै सफलतापूर्वक सम्पन्न भएको छ। शुक्रबार महाधिवेशनबाट निर्वाचित सम्पूर्ण पदाधिकारी तथा केन्द्रीय सदस्यहरूले पद तथा गोपनीयताको शपथ ग्रहण गरेका छन्।
यस महाधिवेशनबाट पार्टी सभापतिमा रवि लामिछाने र उपसभापतिमा डा. स्वर्णिम वाग्ले निर्विरोध निर्वाचित भएका छन्। यसैगरी कडा प्रतिस्पर्धाबीच महिला उपसभापतिमा डा. तोसिमा कार्कीलाई पराजित गर्दै सोविता गौतम निर्वाचित भएकी छन् भने महामन्त्रीमा विपिन आचार्यले बाजी मारेका छन्। सहमहामन्त्री (खुला) तर्फ हरि ढकाल र असिम शाह तथा सहमहामन्त्री (महिला) मा निशा डाँगी निर्वाचित भएका छन्।
निर्वाचन आयोगका प्रमुख भुवन केसीबाट शपथ ग्रहण गरेपश्चात् नवनिर्वाचित सभापति लामिछानेले महाधिवेशन सफल पार्न सहयोग गर्ने सम्पूर्णलाई धन्यवाद दिए। उनले पार्टीभित्र देखिएका गुट-उपगुटका सङ्केतहरूलाई जरैदेखि उखेल्ने चेतावनी दिँदै अब रास्वपालाई एकताबद्ध, परिपक्व र प्रतिबद्ध बनाएर अगाडि बढाउने उद्घोष गरेका छन्। रास्वपाको नयाँ विधानअनुसार केन्द्रीय समिति १५१ सदस्यीय हुनेछ, जसमा सभापतिले थप १२ जना पदाधिकारी र ५१ जना केन्द्रीय सदस्य मनोनीत गर्ने व्यवस्था रहेको छ।





