काठमाडौँ । प्रतिनिधिसभाको आजको बैठकमा चारवटा महत्त्वपूर्ण विधेयक प्रस्तुत भएका छन्। बैठकमा प्रधानमन्त्री वालेन्द्र शाहका तर्फबाट कानुन, न्याय तथा संसदीय मामिलामन्त्री सोविता गौतमले ‘संवैधानिक निकायका पदाधिकारीहरूको पारिश्रमिक, सेवाको शर्त र सुविधासम्बन्धी (पहिलो संशोधन) विधेयक, २०८३’ प्रस्तुत गरेकी हुन्।
यसै गरी परराष्ट्रमन्त्री शिशिर खनालले ‘राहदानी (पहिलो संशोधन) विधेयक, २०८३’ प्रस्तुत गरे भने महिला, बालबालिका, लैङ्गिक तथा यौनिक अल्पसङ्ख्यक र सामाजिक सुरक्षामन्त्री सीता वादीले ‘मानव बेचबिखन तथा ओसारपसार (नियन्त्रण) (पहिलो संशोधन) विधेयक, २०८३’ बैठकसमक्ष पेस गरिन्। यस्तै उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री गौरी कुमारीले ‘खानी तथा खनिज पदार्थ विधेयक, २०८३’ प्रस्तुत गरेकी हुन्। ती विधेयकहरू प्रस्तुत गर्ने प्रस्तावमा कुनै पनि सांसदको विरोधको सूचना प्राप्त नभएकाले सर्वसम्मतिले स्वीकृति प्रदान गरिएको सभामुख डोलप्रसाद अर्यालले घोषणा गरे।
बैठकमा राज्य व्यवस्था तथा सुशासन समितिका सभापति हरि ढकालले ‘नेपाल विशेष सेवा ऐन, २०४२’ को साविकको व्यवस्था जगाउनेसम्बन्धी समितिको प्रतिवेदन, २०८३ समेत पेस गरेका छन्। आजका सम्भावित कार्यसूची पूरा भएसँगै प्रतिनिधिसभाको अर्को बैठक यही साउन २५ गते सोमबार दिउँसो १:०० बजे बस्ने गरी स्थगित भएको छ।




