काठमाडौँ । नेपाल विद्युत् प्राधिकरणले काठमाडौँका विभिन्न क्षेत्रमा शनिबार र आइतबार गरी दुई दिन विद्युत् आपूर्ति बन्द हुने जनाएको छ। रत्नपार्क वितरण केन्द्र तथा काठमाडौँ उपत्यका पूर्व एवं दक्षिण वितरण प्रणाली सुदृढीकरण आयोजनाअन्तर्गत संरचना मर्मत तथा केबल जडानको काम गर्नुपर्ने भएकाले विद्युत् सेवा अवरुद्ध हुन लागेको हो।
प्राधिकरणका अनुसार भूमिगत केबल जडान, चार्जिङ, नयाँ पोल ठड्याउने, स्ट्रक्चर फिटिङ तथा फिडर मर्मतका कार्यहरू सम्पादन गर्नका लागि छुट्टाछुट्टै समयमा बत्ती काटिने छ। जसअनुसार साउन २३ गते शनिबार भीमसेनस्थान फिडरअन्तर्गतका टेकू, १२ वडा कार्यालय, सरस्वती स्कुल, ह्युमत, जैसीदेवल, काष्ठमण्डप, २१ वडा कार्यालय, १२ वर्षे इनार र पलान्चोक भगवती क्षेत्रमा बिहान ८:०० बजेदेखि दिउँसो २:०० बजेसम्म विद्युत् आपूर्ति बन्द हुनेछ। सोही दिन डिल्लीबजार फिडरअन्तर्गत पर्ने कालिकास्थान, डिल्लीबजार, न्युप्लाजा, चारखाल, पुतलीसडक र ट्रिनिटी कलेज आसपासका क्षेत्रमा बिहान १२:०० बजेदेखि दिउँसो ५:०० बजेसम्म बत्ती जानेछ।
यसै गरी साउन २४ गते आइतबार लाजिम्पाट फिडरअन्तर्गतका लैनचौर, खुर्सानीटार, पुरानो प्रचण्ड निवास, र्याडिसन होटेल र लाजिम्पाट मूल सडक क्षेत्रमा बिहान ९:०० बजेदेखि दिउँसो १:०० बजेसम्म विद्युत् सेवा अवरुद्ध हुने जनाइएको छ। निर्धारित काम तोकिएको समयअगावै सम्पन्न भएमा समयभन्दा पहिले नै विद्युत् सेवा पुनः सुचारु गरिने प्राधिकरणले स्पष्ट पारेको छ।




