काठमाडौँमा चौथो अन्तर्राष्ट्रिय मुख स्वास्थ्य सम्मेलन सुरु: दन्त स्वास्थ्यकर्मीको हकहित र नीतिगत सुधारमा जोड

काठमाडौँ । मुख स्वास्थ्यको सबलीकरण, नीतिगत व्यवस्था तथा आगामी रणनीतिका विषयमा गहन विमर्श गर्ने उद्देश्यसहित राजधानी काठमाडौँमा ‘चौथो अन्तर्राष्ट्रिय मुख स्वास्थ्य सम्मेलन’ सुरु भएको छ। सम्मेलनमा देशभरका दन्त स्वास्थ्यकर्मी, स्वास्थ्य विज्ञ तथा सरोकारवाला निकायका प्रतिनिधिहरूको सहभागिता रहेको छ।

सम्मेलनको उद्घाटन गर्दै नेपाल स्वास्थ्य व्यवसायी परिषद्का अध्यक्ष सगुन पौडेलले समग्र स्वास्थ्य प्रणालीमा दन्त स्वास्थ्यकर्मीहरूको योगदान महत्त्वपूर्ण रहेको बताए। परिषद्लाई केवल दर्ता र नवीकरणमा मात्र सीमित नराखी स्वास्थ्यकर्मीहरूको पेसागत हकहित र सुरक्षा सुनिश्चित गर्ने अभिभावकीय निकायका रूपमा विकास गरिने उनले प्रतिबद्धता व्यक्त गरे। उनले स्वास्थ्यकर्मीको क्षमता अभिवृद्धिका लागि निरन्तर पेसागत विकास (सीपीडी) कार्यक्रमलाई व्यवस्थित बनाइने र गुनासो सुन्न डिजिटल माध्यमबाट ‘हेलो एनएचपिसी’ सञ्चालनमा ल्याइसकिएको जानकारी दिए।

यसैबिच, डेन्टल साइन्स हाइजेनिस्ट एसोसिएसन नेपालका अध्यक्ष माइकल देवकोटाले दन्त स्वास्थ्यकर्मीहरूको पेसागत अधिकार र स्वास्थ्य नीतिमा सुधार हुनुपर्ने माग राखे। गुणस्तरहीन तथा अखाद्य टुथपेस्टहरूलाई बहिष्कार गर्न आह्वान गर्दै उनले जनस्वास्थ्य सुरक्षाका लागि सरकारले कडाइका साथ बजार नियमन गर्नुपर्नेमा जोड दिए। साथै, करिब ४ हजार दर्तावाला दन्त स्वास्थ्यकर्मीहरूको परिषद्मा उचित प्रतिनिधित्व सुनिश्चित गर्न बोर्ड पुनर्गठनको माग गर्दै उनले कानुनबमोजिम दन्त हाइजिनिस्टहरूलाई तोकिएका २६ वटा उपचारसम्बन्धी कार्य निर्बाध रूपमा गर्न पाउनुपर्ने स्पष्ट पारे।

नोट :हजुरको पनि गाउँ, टोल, छर-छिमेक वा समाजमा कुनै सुचना, संदेश, या नयाँ जानकारी छन् भने, तत्काल हामीलाई सम्पर्क गर्नुहोस, हामि त्यसलाई समाचार बनाउने छौं । साथै suryapatra.com बाट प्रकाशित समाचारमा कुनै सुझाव,सल्लाह र प्रतिक्रिया भए वा बिज्ञापन दिनु परेमा हामीलाई सम्पर्क गर्नुहोस जसको लागि हाम्रो इमेल :-suryapatra.org@gmail.com तपाईं हामी सँग फेसबुक र ट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।

थप समाचार

ताजा