हेटौँडा । विगत २६ वर्षदेखि पूर्ण रूपमा बन्द अवस्थामा रहेको ऐतिहासिक हेटौँडा कपडा उद्योगले पुनर्जीवन पाएको छ। नेपाली सेनाको प्राविधिक टोलीको सहयोगमा पुराना मेसिनहरूको मर्मत तथा आधुनिकीकरण गरिएपछि उद्योगमा औपचारिक रूपमा परीक्षण उत्पादन सुरु भएको हो।
उद्योगमा रहेका कुल ४८८ वटा कपडा बुन्ने तान मेसिनहरूमध्ये हाल १० वटा मेसिनबाट कपडाको परीक्षण उत्पादन थालिएको छ भने थप १० वटा मेसिन उत्पादनका लागि तयारी अवस्थामा राखिएको छ। सञ्चालनमा आएका १० मध्ये ३ वटा मेसिनलाई पूर्ण स्वचालित (अटोमेटिक) बनाइसकिएको छ। शनिबार उद्योगको स्थलगत निरीक्षण गर्दै उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री गौरीकुमारी यादवले सबै ४८८ वटै मेसिनहरू क्रमशः सञ्चालनमा ल्याएर उद्योगलाई पूर्ण क्षमतामा चलाउने सरकारी लक्ष्य रहेको बताइन्। उनले स्वदेशी उत्पादनलाई प्राथमिकता दिन र उद्योग जोगाउन सबै पक्ष एकजुट हुनुपर्नेमा जोड दिइन्।
उद्योगलाई पुनः सञ्चालनमा ल्याउने अभियानमा नेपाली सेनाको उत्पादन निर्देशनालयका करिब ४० जना प्राविधिक तथा सैनिक, उद्योगका पुराना दुई कर्मचारी र काठमाडौँबाट आएका टेक्सटाइल विज्ञहरू खटिएका छन्। पुराना सटल लुमलाई अटोमेटिक बनाइएपछि उत्पादन क्षमता उल्लेख्य रूपमा वृद्धि भएको र एउटा मेसिनबाट दैनिक ६५ देखि ७० मिटरसम्म कपडा उत्पादन गर्न सकिने प्राविधिकहरूले बताएका छन्। वि.सं. २०३२ सालमा स्थापना भई करिब १,२०० जनालाई प्रत्यक्ष रोजगारी दिएको यो उद्योग व्यवस्थापकीय कमजोरी र घाटाका कारण २०५७ सालदेखि बन्द भएको थियो।




