काठमाडौँ । पूर्वाधार विकास मन्त्री सुनिल लम्सालले लगातारको वर्षाका कारण अवरुद्ध बनेको कान्ति राजमार्ग वर्षा रोकिएको दुई घण्टाभित्रै सञ्चालनमा ल्याइने बताएका छन्।
शुक्रबार सामाजिक सञ्जालमार्फत जानकारी गराउँदै मन्त्री लम्सालले ललितपुर खण्डको बिर्खेधारा, टार्कुचे र छपेली क्षेत्रमा खसेको पहिरोका कारण यातायात सेवा पूर्ण रूपमा बन्द भएको स्पष्ट पारे। सडक अवरुद्ध हुँदा काठमाडौँ उपत्यकाबाट हेटौँडातर्फ जाने र हेटौँडाबाट आउने यात्रुहरू बिच बाटोमै अलपत्र परेका छन् भने निरन्तरको वर्षाका कारण तत्काल पहिरो पन्छाउन कठिनाइ भइरहेको छ।
सरकारले सडक खुलाउन आवश्यक जनशक्ति र उपकरणहरू तयारी अवस्थामा राखेको जनाएको छ। वर्षा रोकिनेबित्तिकै पहिरो पन्छाई यातायात सुचारु गर्ने तयारी गरिएको भए पनि हाललाई वर्षा नरोकिँदासम्म यस वैकल्पिक मार्गमा यात्रा नगर्न र उच्च सतर्कता अपनाउन सम्बन्धित सबैमा आग्रह गरिएको छ।





