बेइजिङ । विश्वका दुई ठूला अर्थतन्त्र अमेरिका र चीनले एकआपसमा आयात हुने करिब ६० अर्ब अमेरिकी डलर मूल्य बराबरका विभिन्न वस्तुमा लगाइएको भन्सार शुल्क घटाउने ऐतिहासिक सहमति गरेका छन्। सहमतिअनुसार दुवै पक्षले ३०–३० अर्ब डलर बराबरका गैरसंवेदनशील वस्तुहरूमा पारस्परिक रूपमा भन्सार सहजीकरण गर्ने निर्णय गरेका हुन्। अमेरिकी व्यापार प्रतिनिधि जेमिसन ग्रियरका अनुसार यस कदमबाट चीनमा निर्यात हुने अमेरिकी उत्पादनमध्ये करिब ३० प्रतिशतले सहज बजार पहुँच पाउनेछन्।
सहमतिअनुसार चीनले अमेरिकाबाट आयात हुने मकै, गहुँ, ज्वार, मासु, दुग्धजन्य पदार्थ र वनस्पति तेललगायत कृषि उत्पादनका साथै समुद्री खाद्य पदार्थ, काठजन्य सामग्री, सौन्दर्य प्रसाधन र चिकित्सा उपकरणमा भन्सार महसुल घटाउने भएको छ। यद्यपि सोयाबिनलाई भने भन्सार छुटको सूचीमा राखिएको छैन। अर्कोतर्फ, अमेरिकाले चीनबाट आयात हुने कफी बनाउने मेसिन, टोस्टरलगायत साना घरेलु विद्युतीय उपकरण, टेबलवेयर, ओछ्यानका कपडा, खेलौना, सजावटी सामग्री तथा बालबालिकाका कार सिटमा भन्सार कटौती गर्नेछ।
अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प र चिनियाँ राष्ट्रपति सी चिनफिङबिच वासिङ्टनमा सम्पन्न द्विपक्षीय शिखर वार्तापछि यो व्यापारिक सम्झौता सार्वजनिक भएको हो। यसैबिच, दुई देशबिच लामो समयदेखि जारी व्यापार युद्धविरामलाई आगामी जनवरी १० सम्म थप दुई महिना लम्ब्याउने सहमतिसमेत भएको छ। चीनको वाणिज्य मन्त्रालयले युद्धविराम विस्तारले दुवै देशका आर्थिक समस्या समाधान गर्न, नयाँ साझेदारीका ढोका खोल्न र विश्व बजारमा पूर्वानुमानयोग्य नीतिगत वातावरण निर्माण गर्न मद्दत पुग्ने जनाएको छ।





