पूर्वप्रधानन्यायाधीश जबरालाई नियन्त्रणमा लिइएको होइन, रेस्क्यु गरिएको हो : सरकारका प्रवक्ता

काठमाडौँ । शिक्षामन्त्री तथा नेपाल सरकारका प्रवक्ता सस्मित पोखरेलले पूर्वप्रधानन्यायाधीश चोलेन्द्रशमशेर जबरालाई प्रहरीले नियन्त्रणमा नलिएको स्पष्ट पार्नुभएको छ। मंगलबार सिंहदरबारमा बसेको मन्त्रिपरिषद् बैठकका निर्णय सार्वजनिक गर्दै प्रवक्ता पोखरेलले जबरालाई सुरक्षा चुनौतीका कारण सुरक्षित स्थानमा ‘रेस्क्यु’ (उद्धार) मात्र गरिएको दाबी गर्नुभएको हो।

सञ्चारकर्मीहरूसँग कुरा गर्दै मन्त्री पोखरेलले जबराको निवास र परिवारमाथि गम्भीर सुरक्षा जोखिम देखिएपछि परिवारकै तर्फबाट सुरक्षा माग गरी प्रहरीमा निवेदन परेको बताउनुभयो। “उहाँलाई पक्राउ वा नियन्त्रणमा लिइएको होइन, सुरक्षा जोखिम देखिएपछि रेस्क्यु गरिएको हो,” प्रवक्ता पोखरेलले भन्नुभयो, “परिवारको तर्फबाट सुरक्षाको माग गर्दै निवेदन आएपछि राज्यले नागरिकको जीउधनको रक्षा गर्ने दायित्वअनुसार सुरक्षित स्थानमा स्थानान्तरण गरेको हो।”

उहाँले सुरक्षा थ्रेट कुनै राजनीतिक समूह वा जेनजी पुस्ताबाट नभई अपरिचित समूहहरूबाट आएको जानकारी दिनुभयो। घटनालाई लिएर बाहिर विभिन्न भ्रम र टिकाटिप्पणी भइरहेको भन्दै प्रवक्ता पोखरेलले राज्यले विधिको शासन र पूर्वविशिष्ट व्यक्तिको सुरक्षालाई उच्च प्राथमिकतामा राखेर तत्काल सुरक्षा व्यवस्था मिलाएको स्पष्ट पार्नुभयो।

नोट :हजुरको पनि गाउँ, टोल, छर-छिमेक वा समाजमा कुनै सुचना, संदेश, या नयाँ जानकारी छन् भने, तत्काल हामीलाई सम्पर्क गर्नुहोस, हामि त्यसलाई समाचार बनाउने छौं । साथै suryapatra.com बाट प्रकाशित समाचारमा कुनै सुझाव,सल्लाह र प्रतिक्रिया भए वा बिज्ञापन दिनु परेमा हामीलाई सम्पर्क गर्नुहोस जसको लागि हाम्रो इमेल :-suryapatra.org@gmail.com तपाईं हामी सँग फेसबुक र ट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।

थप समाचार

ताजा