नेपाली कांग्रेसमा समानान्तर महाधिवेशन: ‘पार्टी सभापति’कै हैसियतमा देउवाद्वारा अपिल जारी, वडा अधिवेशनमा जुट्न आह्वान

काठमाडौँ । नेपाली कांग्रेसभित्र चुलिएको आन्तरिक विवादबिच पूर्वसभापति शेरबहादुर देउवाले आफूलाई अझै पनि पार्टी सभापतिकै हैसियतमा प्रस्तुत गर्दै समानान्तर महाधिवेशनमा सक्रियतापूर्वक सहभागी हुन नेता–कार्यकर्तासमक्ष अपिल गरेका छन्। संस्थापन इतर पक्षले बिहीबार (आज) देखि सुरु गर्न लागेको १५औँ महाधिवेशनअन्तर्गतको वडा अधिवेशनको पूर्वसन्ध्यामा उनले सामाजिक सञ्जालमार्फत यस्तो सार्वजनिक आह्वान गरेका हुन्।

देउवाले जारी गरेको अपिलमा झन्डै आठ दशक लामो गौरवमय इतिहास बोकेको नेपाली कांग्रेसका लागि यो महाधिवेशन अत्यन्त महत्त्वपूर्ण रहेको उल्लेख गरिएको छ। लोकतान्त्रिक गणतन्त्रात्मक शासन व्यवस्था, पूर्ण प्रेस स्वतन्त्रता र विधिको शासन स्थापनाका निम्ति कांग्रेसले गरेको त्याग, बलिदान र संघर्षलाई संस्थागत गर्न यो महाधिवेशनले निर्णायक भूमिका खेल्ने उनले बताएका छन्। देशभरका ६ हजार ७ सय ४३ वटै वडामा विधि र प्रक्रिया पूरा गरी सुरु हुन लागेको अधिवेशनमा कुनै अलमलमा नपरी उच्च मनोबल र हर्षोल्लासका साथ सहभागी हुन उनले कार्यकर्ता पंक्तिलाई आग्रह गरेका छन्। साथै, पार्टीभित्र देखिएका अन्तरविरोध र मतभेदहरूलाई महाधिवेशनकै माध्यमबाट समाधान गरी कांग्रेसलाई थप एकताबद्ध र सुदृढ बनाउने प्रणसमेत उनले गरेका छन्।

देउवा समूहले पूर्वमहामन्त्री डा. शशांक कोइरालाको संयोजकत्वमा महाधिवेशन आयोजक समिति गठन गरी आगामी मङ्सिर २१ देखि २३ गतेसम्म काठमाडौँमा केन्द्रीय महाधिवेशन गर्ने कार्यतालिका सार्वजनिक गरिसकेको छ। संस्थापन पक्षले यसअघि नै महाधिवेशन प्रक्रिया अघि बढाइसकेको अवस्थामा देउवा पक्षले छुट्टै निर्वाचन अधिकृतहरू खटाएर ७७ वटै जिल्लामा समानान्तर महाधिवेशनको प्रक्रिया अघि बढाएपछि नेपाली कांग्रेसभित्रको आधिकारिकता विवाद थप पेचिलो बनेको छ।

नोट :हजुरको पनि गाउँ, टोल, छर-छिमेक वा समाजमा कुनै सुचना, संदेश, या नयाँ जानकारी छन् भने, तत्काल हामीलाई सम्पर्क गर्नुहोस, हामि त्यसलाई समाचार बनाउने छौं । साथै suryapatra.com बाट प्रकाशित समाचारमा कुनै सुझाव,सल्लाह र प्रतिक्रिया भए वा बिज्ञापन दिनु परेमा हामीलाई सम्पर्क गर्नुहोस जसको लागि हाम्रो इमेल :-suryapatra.org@gmail.com तपाईं हामी सँग फेसबुक र ट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।

थप समाचार

ताजा