ललितपुर । पाटन स्वास्थ्य विज्ञान प्रतिष्ठानले आफ्ना विभाग प्रमुख तथा कार्यक्रम निर्देशकहरूलाई स्नातकोत्तर आवासीय चिकित्सक (रेजिडेन्ट डाक्टर) हरूले लगातार २४ घण्टा ड्युटी पूरा गरेपछि अनिवार्य रूपमा पर्याप्त विश्राम पाउने व्यवस्था मिलाउन निर्देशन दिएको छ। नेपाल मेडिकल काउन्सिल र चिकित्सा शिक्षा आयोगको निर्देशन तथा पत्रलाई आधार मान्दै प्रतिष्ठानको स्कूल अफ मेडिसिनका डीन डा. आशिष श्रेष्ठद्वारा जारी सूचनामा उक्त व्यवस्था तुरुन्त कार्यान्वयन गर्न अनुरोध गरिएको हो।
प्रतिष्ठानले सक्षमतामा आधारित चिकित्सा शिक्षा (पीजी कार्यक्रम) सञ्चालन गर्दै आएको उल्लेख गर्दै आवासीय चिकित्सकहरूको दक्षता, व्यावसायिक निष्ठा तथा सिकाइ अवसर सुनिश्चित गर्न यस्तो निर्णय लिइएको जनाएको छ। तोकिएको शैक्षिक अवधिभित्र निर्धारण गरिएका सम्पूर्ण सक्षमता हासिल हुने गरी शिक्षण सिकाइ तथा निर्माणात्मक मूल्याङ्कन सम्बन्धी गतिविधिहरूलाई समयबद्ध, व्यवस्थित र प्रभावकारी रूपमा अगाडि बढाउनसमेत प्रतिष्ठानले निर्देशन दिएको छ।





