काठमाडौँ । आइतबार देशका विभिन्न भू-भागमा आंशिकदेखि साधारणतया बदली रही हिमाली तथा पहाडी क्षेत्रका केही स्थानमा वर्षा र हिमपातको सम्भावना रहेको छ। कोशी, बागमती, गण्डकी र लुम्बिनी प्रदेशका हिमाली तथा पहाडी भू-भागमा साधारणतया बदली रहनेछ भने कर्णाली र सुदूरपश्चिम प्रदेश तथा तराई भेगमा आंशिक बदली रहने आकलन गरिएको छ।
दिउँसोको समयमा कोशी, बागमती, गण्डकी र लुम्बिनी प्रदेशका हिमाली तथा पहाडी भू-भागका थोरै स्थानहरूमा मध्यम वर्षा तथा हिमपातको सम्भावना रहेको छ। साथै कर्णाली र सुदूरपश्चिम प्रदेशका हिमाली तथा पहाडी भेगका एक-दुई स्थानमा मध्यम वर्षा तथा हिमपात र चार प्रदेशका तराई क्षेत्रमा हल्का वर्षा हुन सक्नेछ।
रातिको समयमा पहाडी र तराई भू-भागमा साधारणतया बदली रही तराईका थोरै स्थानमा मध्यम वर्षाको सम्भावना छ। मधेश प्रदेशलगायत कोशी, बागमती, गण्डकी र लुम्बिनी प्रदेशका तराई भू-भाग तथा सुदूरपश्चिम प्रदेशमा हल्का वर्षाको आकलन गरिएको छ। साथै बिहानीपख तराई क्षेत्रमा हुस्सु लाग्न सक्ने भएकाले आवश्यक सतर्कता अपनाउन आग्रह गरिएको छ।





