काठमाडौँ । वैदेशिक रोजगारीका लागि दक्षिण कोरिया पुगेर फर्किएका एक युवाले पसिना बगाएर कमाएको रकम रातभरमै गुमाउनु परेको छ। सामाजिक सञ्जाल फेसबुकमा देखिने ‘लोभलाग्दो’ विज्ञापनको लिंकमा क्लिक गर्दा उनका तीनवटा बैंक खातामा रहेको २७ लाख ८१ हजार रुपैयाँ लुटिएको हो।
जिल्ला सरकारी वकिल कार्यालय काठमाडौंले केही दिन अघि मात्र यससम्बन्धी अभियोगपत्र दायर गरेको छ। कोरियाबाट फर्केपछि ती युवाले ग्लोबल आईएमई बैंक, महालक्ष्मी विकास बैंक र प्रभु बैंकमा आफ्नो बचत जम्मा गरेका थिए। ७ जुलाईको साँझ फेसबुक चलाउँदा ‘घर बसी बसी आम्दानी गर्न सकिने’ लिंक क्लिक गरेका थिए। भोलिपल्ट बिहान हेर्दा उनको खाताबाट २७ लाख ८१ हजार रुपैयाँ गायब भइसकेको थियो।
प्रहरीको साइबर ब्युरोले गरेको अनुसन्धानअनुसार रकम विभिन्न व्यक्तिहरूको खाता र डिजिटल वालेटमा पुगेको देखिएको छ। ठूलो हिस्सा सिराहाका एक युवाको खातामा पुगेको छ भने बाँकी रकम अन्यको वालेटमा ट्रान्सफर भएको छ। जिल्ला प्रहरी परिसर भद्रकालीले गरेको अनुसन्धानका आधारमा तीनै जना आरोपी विरुद्ध ठगी मुद्दा दायर गरिएको छ। उनीहरूलाई ७ वर्षसम्म कैद र जरिबाना गर्न माग दाबी गरिएको छ।




