काठमाडौँ । रसुवा, नुवाकोट र तटीय क्षेत्रमा आएको विनाशकारी बाढीबाट ज्यान गुमाएकामध्ये १० जनाको शव महाराजगञ्जस्थित त्रिवि शिक्षण अस्पताल (टीचिङ) मा ल्याइएको छ।
अस्पतालका सूचना अधिकारी कालीप्रसाद रोस्याराका अनुसार बिहीबार साँझसम्म १० जनाको शव अस्पताल आइपुगेको हो। जसमध्ये हालसम्म एक जनाको मात्र पहिचान खुलेको र अन्यको पहिचानको प्रक्रिया अघि बढाइएको अस्पतालले जनाएको छ।
अस्पतालसँग १५० वटा शव व्यवस्थापन गर्न सक्ने क्षमता रहेको र बाढीबाट थप शव आउने क्रम जारी रहेमा अन्य स्थानमा अस्थायी चिस्यान (आइस) राखेर व्यवस्थापन गरिने रोस्याराले बताए। अस्पताल प्रशासनका अनुसार सुरुमा हुलिया र तस्बिरबाट शवको पहिचान गरिनेछ भने सो सम्भव नभए औँलाको रेखा (फिङ्गरप्रिन्ट) मार्फत पहिचान गरी आफन्तको जिम्मा लगाइनेछ।





