काठमाडौँ । नेपाल सरकारद्वारा विभिन्न १३ देशका लागि राजदूत पदमा सिफारिस गरिएका व्यक्तिहरूविरुद्ध कुनै सूचना वा उजुरी भए प्रमाणसहित पेस गर्न संसदीय सुनुवाइ समितिले सार्वजनिक आह्वान गरेको छ। प्रस्तावित व्यक्तिहरूलाई राजदूत पदमा नियुक्त गर्न उपयुक्त छैन भन्ने लागेमा स्पष्ट आधार र सबुत प्रमाणसहित १० दिनभित्र उजुरी दर्ता गर्न सकिने समितिले जनाएको छ।
संसदीय सुनुवाइ समितिको असोज ८ गते बसेको बैठकले सुनुवाइ प्रक्रिया अगाडि बढाउने निर्णय गरेको थियो। जसअनुसार सूचना पहिलोपटक प्रकाशित भएको मितिले १० दिनभित्र सङ्घीय संसद् सचिवालय, सिंहदरबार वा सम्बन्धित जिल्ला प्रशासन कार्यालयमार्फत रीतपूर्वक उजुरी दिन सकिनेछ। उजुरीकर्ताले प्रस्तावित राजदूतको नाम, पद तथा उजुरी गर्नुको तथ्यपरक कारण स्पष्ट खुलाउनुपर्ने व्यवस्था गरिएको छ।
यसअघि मन्त्रिपरिषद्को असोज २ गतेको निर्णयबाट भारतका लागि डा. निश्चलनाथ पाण्डे, चीनका लागि डा. कल्याणराज शर्मा, अमेरिकाका लागि चिरनजङ्ग थापा, बेलायतका लागि पूर्वप्रधानसेनापति गौरवशमशेर जङ्गबहादुर राणा र जर्मनीका लागि सरू जोशी सिफारिस हुनुभएको थियो। यस्तै इजरायलका लागि सुरेशकुमार कर्ण, स्पेनका लागि प्राप्ति शेरचन, जापानका लागि जिज्ञानकुमार थापा, ओमानका लागि डा. पदमाक्षी राणा, मलेसियाका लागि चूडामणि खरेल, दक्षिण कोरियाका लागि प्रा.डा. सङ्गम श्रेष्ठ, श्रीलङ्काका लागि डा. मंचलाकुमारी झा र साउदी अरेबियाका लागि गिरीबहादुर सुनारलाई सिफारिस गरिएको छ। प्राप्त उजुरीहरूमाथि छानबिन तथा संसदीय सुनुवाइ सम्पन्न भएपछि मात्रै राष्ट्रपतिबाट राजदूत नियुक्तिको अन्तिम प्रक्रिया अघि बढ्नेछ।





