काठमाडौँ । नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओलीले गण्डकी, लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशका पार्टी नेताहरूलाई आगामी स्थानीय तहको निर्वाचनमा केन्द्रित हुन निर्देशन दिएका छन्। बुधबार पार्टी कार्यालय च्यासलबाट भर्चुअल माध्यममार्फत सम्बोधन गर्दै उनले केन्द्रीय कमिटी बैठकका महत्त्वपूर्ण निर्णयहरूलाई प्रभावकारी रूपमा कार्यान्वयन गर्न जोड दिएका हुन्।
अध्यक्ष ओलीले लोकतन्त्रको पुनर्बहाली र आगामी वैशाखमा हुने स्थानीय तह निर्वाचन पार्टीको मुख्य गन्तव्य भएको स्पष्ट पारे। उनले प्रदेश तथा जिल्ला कमिटीका सचिवालय सदस्यहरूलाई यी उद्देश्यहरू प्राप्त गर्नका लागि सङ्गठनात्मक गतिविधिहरूलाई तीव्रता दिन निर्देशन दिएका छन्।
यसअघि मङ्गलबार कोशी, मधेस, बागमती, उपत्यका विशेष र सम्पर्क समन्वय प्रदेशका सचिवालय सदस्यहरूलाई पनि भर्चुअल सम्बोधन गर्दै उनले पार्टीको आगामी कार्यदिशा र निर्वाचनको तयारीबारे प्रशिक्षित गरेका थिए।





