नेपालीहरु भारतमा किनमेल गर्न जान छोडेपछि नेपाल भारत सिमानाका पसलहरु बन्द,

कोरोना कहरको असर सबै क्षेत्रमा परेको छ । महाकारीका बेला गरिएको बन्दाबन्दीका कारण धेरैले रोजगारी गुमाए भने व्यापारसमेत गर्न पाएनन् ।

लामो समयदेखि सीमानाका बन्द हुँदा सीमा क्षेत्रका व्यापारी पलायन हुन थालेका छन् । कोरोना कहरका कारणले व्यापार व्यवसाय चौपट बनेपछि भारतसँग सीमा जोडिएको बैतडीको झुलाघाटका व्यापारी पलायन हुन थालेका हुन् ।

झुलाघाटका कतिपय व्यापारीले आफूहरु पलायन भएको बताएका छन् । सीमानाका नखुल्दा पलायन हुनुपरेको स्थानीय व्यापारी तोयनाथ जोशी बताउनुहुन्छ ।

लामो समयसम्म झुलाघाटमा आफ्नो व्यापार कोरोना कहरले ठप्प भएपछि सो ठाउँबाट सरेर हाल दार्चुलाको गोकुलेश्वर पुगेको उहाँको भनाइ छ । उहाँले भन्नुभयो, “नाका बन्द हुँदा व्यापार चौपट भयो, हाल यतै सानोतिनो व्यापार गर्दैछु ।”

झुलाघाट बजारका व्यापारीको विगतमा भने राम्रो व्यापार चलेको थियो । सीमावर्ती बजार भएकाले भारतको पिथौरागढ जिल्लाका ग्राहक नेपाली सामान किन्न आउने गरेका थिए तर अहिले सीमानाका बन्द भएकाले व्यापारी सङ्कटमा परेका हुन् ।

गएको चैतदेखि सीमानाका बन्द भएसँगै भारतीय ग्राहकमा निर्भर रहेको झुलाघाट बजार पूर्णरुपमा बन्द रहेको झुलाघाट बजार व्यवस्थापन समितिका अध्यक्ष लवदेव जोशी बताउनुहुन्छ । उहाँले भन्नुभयो, “नेपाली सामग्री किन्नका लागि भारतको पिथौरागढबाट समेत ग्राहक आउने गरेका थिए तर कोरोनाको महामारीले नाका बन्द भएपछि ग्राहक आउन सकेका छैनन् ।”

नाका बन्द भएपछि झुलाघाटमा ४० भन्दा बढी व्यापारीको व्यापार व्यवसाय चौपट भएको छ । चैतदेखि नै पसल बन्द गरेर घरमा बस्नुपरेको व्यापारी डम्मर जोशीले गुनासो सुनाउनुभयो । उहाँले भन्नुभयो, “तयारी कपडा किन्नका लागि भारतीय ग्राहक आउने गर्दथे । खास गरेर हिउँदको समयमा धेरै ग्राहक आउने गर्दथे । अहिले सीमानाका बन्द भएपछि व्यवसाय पूरै खस्किएको छ ।”

सीमानाका खुला भएको समयमा नेपाली भारतीय बजारमा जाने र भारतीय नेपाली बजारमा आउने गरेका छन् तर नाका बन्द भएपछि दुवैतिरको व्यापार व्यवसाय ठप्प छ ।

भारतीय व्यापारीको मुख्य बजार नेपालको क्षेत्र भएकाले यो झुलाघाट बजारसमेत सुनसान बनेको भारतीय पत्रकार प्रमोद भट्ट बताउनुहुन्छ । उहाँले भन्नुभयो, “सीमावर्ती दुवै देशका व्यापारीलाई निकै समस्या रहेको छ । सीमानाका बन्द हुँदा व्यापार व्यवसाय चौपट भएको छ ।”

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

नोट :हजुरको पनि गाउँ, टोल, छर-छिमेक वा समाजमा कुनै सुचना, संदेश, या नयाँ जानकारी छन् भने, तत्काल हामीलाई सम्पर्क गर्नुहोस, हामि त्यसलाई समाचार बनाउने छौं । साथै suryapatra.com बाट प्रकाशित समाचारमा कुनै सुझाव,सल्लाह र प्रतिक्रिया भए वा बिज्ञापन दिनु परेमा हामीलाई सम्पर्क गर्नुहोस जसको लागि हाम्रो इमेल :-suryapatra.org@gmail.com तपाईं हामी सँग फेसबुक र ट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।

ताजा