काठमाडौँ । नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सिआइबी) ले अखिल नेपाल फुटबल संघ (एन्फा) का पूर्वअध्यक्ष कर्मा छिरिङ शेर्पालाई पक्राउ गरेको छ। ठगी तथा आपराधिक विश्वासघातसम्बन्धी कसुरमा अनुसन्धानका लागि प्रहरीले उनलाई शुक्रबार साँझ नियन्त्रणमा लिएको हो।
सिआइबीका प्रवक्ता एवं प्रहरी वरिष्ठ उपरीक्षक (एसएसपी) अनुपम शमशेर जबराका अनुसार, हात्तीगौँडामा सञ्चालित टुङ्गराम इन्टरनेसनल एकेडेमीको ८ करोड ७८ लाख ३० हजार रुपैयाँ अपचलन गरेको आरोपमा शेर्पालाई पक्राउ गरिएको हो। विद्यालयको कार्यकारी प्रमुखका रूपमा कार्यरत रहँदा उनले विभिन्न प्रपञ्च र अनुचित प्रभाव पारेर विद्यालयलाई ठूलो आर्थिक हानि पुर्याएको प्रहरीको भनाइ छ।
अनुसन्धानका क्रममा शेर्पाले डर, त्रास र अनुचित प्रभावमा पारेर विद्यालयको नाममा भक्तपुरको दधिकोटमा रहेको २९ रोपनी ४ आना जग्गासमेत आफ्नै स्वामित्वको कम्पनीमा बेचेको खुलेको छ। यस विषयमा प्रहरीले थप अनुसन्धान अघि बढाएको छ।





